images
images

कपिलवस्तु यात्रुबाहक बस दुर्घटना अपडेटः मृतकमध्ये एक जनाको सनाखत

  • ३ फाल्गुन २०८०, बिहीबार ०८:५६

कपिलबस्तु । कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको छ ।

मृत्तक १० जनामध्ये रौतहट पहुराही नगरपालिका–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारीको मात्र सनाखत भएको हो । दुर्घटनामा परी मृत्यु भएका अन्य ९ जनाको सनाखत हुँदा बाँकी रहेको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस गएराति १ बजे सडकबाट २ सय मिटर तल खसेको थियो । सो दुर्घटना हुँदा १० जनाको घटनास्थलै मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा परी घाइते भएकाहरु सबैको पहिचान खुलेको कपिलवस्तुका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा ओखलढुंगा घर भई रुद्रध्वजज गण महेन्द्रनगरमा कार्यरत हवलदार लोक बहादुर कार्की, ओखलढुंगाकै बिसन भुजेल, बस चालक कञ्चनपुर भीमदत्त नगरपालिका–४ का पूर्ण बहादुर चन्द, सहचालक कञ्चनपुरकै केशव हमाल लगायत ३० जना रहेका छन् ।

घाइते भएकामध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।