images
images

रामेछापमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु, दोलखाका सहचालक घाईते

  • ३ बैशाख २०८१, सोमबार ०८:००

रामेछाप । रामेछापमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन् ।

मन्थली नगरपालिका–७ मा आज बिहान ट्रिपर दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका घर भएका चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका–३ दिगीका नरबहादुर बस्नेतका छोरा २१ वर्षीय दिपेन्द्र बस्नेत रहेका छन् । मुगिटारबाट मन्थलीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ३८३९ नम्बरको बालुवा लोड गरेको ट्रिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको रामेछापका डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा दोलखाको तामाकोशी गाउँपालिका–६ च्यामाका २१ वर्षीय मनोज फुँयाल भने घाईते भएका छन् । घाईते भएका फुँयालको मन्थली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।