images
images

लामावगरको पहिरोमा पुरिएका दुई घाइतेको सैनिक हेलिकोप्टरद्धारा १९ घण्टापछि उद्धार

  • २ माघ २०८०, मंगलवार १०:२५

दोलखा । दोलखाको लामावगरस्थित नासा हाइड्रोको सडक निर्माणको क्रममा सुख्खा पहिरोमा पुरिएर गम्भीर घाइते भएका दुई जना कामदारको १९ घण्टापछि उद्धार गरिएको छ ।

घटना घटेको १९ घण्टापछि नेपाली सेनाको हेलिकोप्टरले दुवै घाइतेलाई उद्धार गरी उपचारकालागि काठमाडौं लगेको हो । दोलखाको मौसममा सुधार आएपछि आज विहान आएको सैनिक हेलिकोप्टरले विहान १० बजे लामावगरको दुर्गम हुरहुरे भन्ने स्थानवाट घाइतेलाई उद्धार गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले घाइतेको सैनिक हेलिकोप्टर मार्फत उद्धार गरिएको अवस्था खतरामुक्त रहेको जानकारी दिनुभयो ।

नासा हाइड्रोले लामावगरवाट लप्चि जाने सडक निर्माणको क्रममा हिजो दिउँसो सुख्खा पहिरो खस्दा दोलखाको बिगु गाउँपालिका–१ का २२ वर्षीय युवक कुसुङ तामाङको मृत्यु भएको थियो भने सोही स्थानका २८ वर्षीय दिलकुमार तामाङ र ५८ वर्षीय रसमान तामाङ गम्भीर घाइते भएका थिए । पहिरोका कारण सडक र बाटो अवरुद्ध हुँदा सुरक्षाकर्मी समेत घटनास्थल पुग्न सकेका थिएनन् भने खराव मौसमका कारण हेलिकोप्टर आउन नसक्दा घाइतेको हिजो उद्धार हुन सकेको थिएन ।

घाइतेहरुलाई घटनास्थलवाट उद्धार गरी हाइड्रोका कामदारको जङ्गलमा रहेको अस्थायी क्याम्पमा राखिएको थियो ।