images
images

बस दुर्घटना अपडेटः ४२ जना डिस्चार्ज, ८ जनालाई काठमाडौँ रिफर

  • ७ बैशाख २०८१, शुक्रबार १८:२१

दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटनामा घाईते भएका ८ जनालाई काठमाडौँ रिफर गरिएको छ ।

घाईतेमध्ये दोलखाको भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीकी ४४ बर्षिया चम्फा थामी, सोही स्थानकी २८ वर्षिया सुकमाया थामी, ७० वर्षिया डल्ली थामीलाई काठमाडौँ रिफर गरिएको हो । यस्तै बसका चालक ३४ वर्षिय दलबहादुर थामी, ३८ बर्षिय यज्ञ बहादुर थामी, ३१ बर्षिय राजकुमार थामी, ६० बर्षिया सुुकुमाया थामी, ६२ बर्षिय हरिमान थामीलाई रिफर गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका अन्य दुई जनाको सिन्धुसदाबहार अस्पताल खाँडीचौरमा उपचार भैरहेको छ । दोलखाको भीमेश्वर नगरपालिका १ का ईश्वर थामी र सोही स्थानका १७ बर्षिय विशाल थामीको सिन्धुसदाबहार अस्पतालमा उपचार भैरहेको हो । दुर्घटनामा ५२ जना घाईते भएकोमा ४२ जना अस्पतालबाट डिस्चार्ज भैसकेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव यादवले जानकारी दिनुभयो । बस दुर्घटनामा भीमेश्वर नगरपालिका १ का १७ बर्षिय शिव श्रेष्ठ, सोही स्थानका ७० बर्षिय मान बहादुर थामी र १९ बर्षिय दिपेन्द्र थामीको मृत्यु भएको छ । बसमा ५५ जना सवार रहेकोमा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बस दुर्घटनामा बेहुला भीमेश्वर नगरपालिका १ का शुसिल थामी र बेहुलाकी आमा साहीली थामी पनि घाईते भएका थिए । उनीहरु दुबै सामान्य उपचारपछि डिस्चार्ज भैसकेको प्रहरीले जनाएको छ । आज बिहान करिब साँढे सात बजे दोलखाबाट सिन्धुपाल्चोकको पिस्करतर्फ जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ धारवती भन्ने स्थानमा दुर्घटना भएको हो । जन्ती बोकेको बा ४ ख ५६१६ नम्बरकोे बस आफै अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयोे ।