images
images

उद्घोषण र भाषण कला सिक्दै कालिञ्चोक गाउँपालिकाका अगुवा महिला

  • ४ पुष २०८०, बुधबार १५:१२

दोलखा । पछिल्लो समय ग्रामिण महिलाहरु उद्घोषण र भाषणकलामा दक्षता हाँसिल गर्नतर्फ लागेका छन् । स्थानीय सरकारले क्षमता विकास तालिम दिन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।

सामाजिक क्षेत्रमा मात्रै नभई घरपरिवार र समाजमा पनि बोल्ने कला आवश्यक रहेको भन्दै उनीहरुले बोल्ने कुराले आत्मबिश्वास जगाउने भएकाले उद्घोषण र भाषणकलामा दक्षता हाँसिल गर्नुपर्ने आवश्यकता महसुस गरेको बताएका छन् । विभिन्न सामाजिक संघ/संस्था, आमा समूह, उपभोक्ता समूह र सामुदायिक बनमा आबद्ध अगुवा महिलाहरुले आफ्नो क्षमतालाई थप निखार्न भाषणकलाको आवश्यकता महसुस भएकाले तालिम लिएको बताएका छन् । गाउँ–गाउँमा जनप्रतिनिधिहरु समेत बोल्ने कला सिकिरहेका छन् ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ ले अगुवा महिलाहरुकालागि यस्तै अवसर दिने उद्धेस्यले आइतवार र सोमवार वडा कार्यालयमा महिला क्षमता विकास तथा उद्घोषण तालिमको आयोजना गर्यो । स्थानीय २५ जना अगुवा महिला सहभागि तालिममा उनीहरुले खुलेर आफ्ना भनाई राख्ने र औपचारिक कार्यक्रम संचालनको प्रयोगात्मक अभ्यास पनि गरे । उद्घोषण तालिम लगत्तै आयोजना गरिएकोे समापन कार्यक्रम सञ्चालन गरेकी वडास्तरीय महिला सशक्तिकरण तथा समन्वय समितिकी सचिव सुन्दरी राउतको प्रस्तुती देखेर अतिथि र सहभागीहरुले खुलेर प्रशंसा गरेका थिए ।

तालिम समापन समारोहमा प्रमुख अतिथिको रुपमा गएका कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले सुन्दरीको प्रसंसा गर्दै उनको भाषण कलामा निखारता देखिएको बताउनुभयो । सुन्दरी मात्र नभई कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ७ का दुई जना जनप्रतिनिधि वडासदस्य स्वस्थानी कार्की खड्का र आरती रोका समेत तालिममा सहभागी भएका थिए । उद्घोषण तालिम पछि बिषयमा आधारित रहेर आफ्ना भनाई राख्ने र उद्घोषक भएर कार्यक्रम समेत संचालन गर्नका लागि आत्मबिश्वास बढेको वडासदस्य आरती रोकाको अनुभव छ ।

स्थानीय भगवती खत्रीले विगतमा औपचारिक कार्यक्रमको निम्तो आउनासाथ के बोल्ने भनेर चिन्ता लाग्ने गरेको स्मरण गर्दै उद्घोषण र भाषणकला सम्वन्धी तालिमले डरको सामना गर्न सिकाएको प्रतिक्रिया दिनुभयो । तर, महिलाहरुकालागि क्षमता विकासका तालिम निरन्तर आयोजना गरिनु पर्ने उहाँको सुझाव छ । स्थानीय बिमला शिवाकोटी भने तालिमले बोल्न भोक मात्रै जगाएको बताउनुहुन्छ । कार्यक्रम चलाउने र बिषयवस्तुमा आधारित भएर आफ्ना धारणा राख्नकालागि उर्जा बढेपछि यस बिषयमा दक्ष बन्नका लागि आधारभूतपछिको अर्को तालिम आवस्यक रहेको उहाँले बताउनुभयो ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामवहादुर पाण्डेका अनुसार वार्षिक योजना र कार्यक्रम निर्माण गर्दा महिला क्षमता विकासको योजना अनिवार्य राख्ने गरिएको छ । सोही अनुसार चालु वर्ष उद्घोषण कलासम्वन्धी तालिमको आयोजना गरिएको हो । यो तालिमवाट २५ जना अगुवा महिलाहरु लाभान्वित भएका छन् । तालिमको गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको उद््घाटन गर्दै उपाध्यक्ष बुढाथोकीले गाउँपालिकाका अन्य वडाहरुमा पनि यस्ता कार्यक्रम संचालनकालागि प्राथमिकतामा राख्ने बताउनुभयो । वडाअध्यक्ष पाण्डेले आफ्ना विचार, भावना र दृष्टिकोण राख्न नसकेसम्म महिला अधिकार र उत्थान असम्भव रहेका कारण उनीहरुलाई औपचारिक कार्यक्रममा मन्तव्य दिन र कार्यक्रम संचालन गर्न सक्ने क्षमता विकास गर्न वडापालिका लागिपरेको बताउनुभयो ।