images
images

पँधेरोमा नुहाउन गएकी युवतीको आफ्नै गाउँका युवकले हत्या गरेको पुष्टि

पाल्पा । पाल्पामा पँधेरोमा नुहाउन गएकी युवतीको विभत्स हत्या उनकै गाउँका एक युवकले गरेको पुष्टि भएको छ ।

रिब्दीकोट गाउँपालिका–१ की १९ वर्षीया पद्मा सुनारको सोही स्थानका युवकले पछाडिबाट हँसियाले प्रहार गरेर हत्या गरेको पुष्टि भएको हो । चैत १४ गते सुनारको घाँटी रेटेर विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सुनारको हत्या आरोपमा सोही स्थानका १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । बुधबार गाउँको लप्सीखोलामा कपडा धुन र नुहाउन एक्लै गएकी पद्मासँग उनको खोलामा सामान्य विवाद भएको थियो । सो विवाद भएपछि पदमा घर फर्किरहेको बेलामा देवलालले पछाडिबाट हँसियाले प्रहार गरेको प्रहरीसमक्ष स्वीकार गरेका हुन् । प्रहरीका अनुसार घटनाको सम्बन्धमा शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्दा देवलालले हत्या गरेको स्वीकार गरेका छन् ।

देवलालले हत्या गर्दा प्रयोग गरेको धारिलो घरेलु हतियार हँसिया, हत्याका बखत लगाएको कपडा, चप्पल र खादा लगायत सामग्री प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी अर्गली, हार्थोक, सर्देवाबाट खटिएको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको एसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।