images
images

दोलखाका पाँच विद्यालयले पाए शैक्षिक प्रोत्साहन अनुदान

  • १८ फाल्गुन २०८०, शुक्रबार १३:३१

दोलखा । दोलखाका पाँचवटा आधारभूत बिद्यालयले शैक्षिक उपलब्धिमा आधारित प्रोत्साहन अनुदान पाएका छन् ।

जिल्लाको शैलुङ, बैतेश्वर र कालिञ्चोक गाउँपालिकाका पाँचवटा बिद्यालयले शैक्षिक उपलब्धिमा आधारित प्रोत्साहन अनुदान पाएका हुन् । जसअनुसार शैलुङ गाउँपालिका स्थित दुधपोखरी र शैलुङ्गेश्वर आधारभूत बिद्यालय, बैतेश्वर गाउँपालिका स्थित कालीदेवी र धर्मशाला आधारभूत बिद्यालय तथा कालिञ्चोक गाउँपालिका स्थित वलम्बु आधारभूत बिद्यालयले प्रोत्साहन अनुदान पाएका हुन् । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले प्रदेश भित्रका सामुदायिक बिद्यालयहरुलाई सिकाई उपलब्धिमा आधारित प्रोत्साहन अनुदान र बिद्यार्थी केन्द्रित व्यवस्थापन सुधार अनुदानका लागि माघ २ गते प्रस्ताव पेश गर्न सुचना जारी गरेको थियो । सोही अनुसार जिल्लाका पाँच बिद्यालय पनि छनौटमा परेका हुन् ।

शैक्षिक उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि विद्यालयलाई प्रस्तावअनुसारको कार्यक्रमको शैक्षिक कार्यक्रम व्यवस्थापनका लागि माध्यमिक तहमा अधिकतम पन्ध्र लाख र आधारभूत तहको लागि अधिकतम आठ लाख विद्यालयको खातामा तोकिए अनुसार किस्तामा अनुदान दिईने छ । विद्यालयलाई कार्यक्रम सञ्चालनका लागि सम्झौता भएपछि पहिलो किस्तामा ५० प्रतिशतले हुन आउने रकम विद्यालयको खातामा अनुदान निकासा दिईने र बाँकी ५० प्रतिशतसम्मको रकम बिल भरपाई बमोजिम कार्य सम्पन्न गरेपछि निकासा हुने निर्देशनालयले जनाएको छ । सो कार्यक्रम सम्पन्न गरी बिद्यालयहरुले २०८१ साल जेठ मसान्तभित्र कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।

विद्यालयले आफ्नो आवश्यकताका आधारमा क्षेत्र वा क्रियाकलाप छनोट गर्दा शिक्षकलाई ल्यापटप वितरण गर्ने, ब्याग खरिद गर्ने, शिक्षक तथा कर्मचारीको तलब भत्तामा खर्च गर्न पाउने छैन । यस्तै, शिक्षक तालिम, अभिभावक भेला तथा सचेतना कार्यक्रम, बार्षिक उत्सव, शैक्षिक भ्रमण, भित्ते लेखन, जग्गा खरिद, भवन तथा कक्षाकोठा लगायत भौतिक संरचना निर्माण तथा मर्मत जस्ता कार्यमा बाहेक अन्य पुँजीगत कार्यमा सो अनुदान रकम खर्च गर्नुपर्नेछ ।