images
images

प्रभावकारी बन्दै एक बिद्यालय एक नर्स कार्यक्रम, दोलखाका ३७ बिद्यालयमा लागु

  • २६ चैत्र २०८०, सोमबार १२:२९

दोलखा । दोलखाका ३७ वटा बिद्यालयहरुमा एक बिद्यालय एक नर्स कार्यक्रम लागू भएको छ ।

बागमती प्रदेश सरकारले सञ्चालन गरेको एक बिद्यालय एक नर्स कार्यक्रम जिल्लाका ९ वटा स्थानीय तहका ३७ वटा बिद्यालयमा लागू भएको हो । चालु वर्ष जिल्लाका बाँकी २४ वटा बिद्यालयमा लागू गर्ने तयारी गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ सालबाट सुरु गरेको यो कार्यक्रममा पहिलो चरणमा दोलखाको हनुमन्तेश्वर मावि सहित प्रदेशका २० वटा बिद्यालयमा सुरु गरिएको थियो । हाल सो कार्यक्रम प्रदेशका १३ वटा जिल्लाका ५ सय १९ वटा बिद्यालयमा लागू भैसकेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ अधिकृत रिता महतोले जानकारी दिनुभयो । उहाँका अनुसार चालु वर्ष एक बिद्यालय एक नर्स कार्यक्रम ३ सय २९ वटा बिद्यालयमा लागु हुँदैछ । सो कार्यक्रम प्रभावकारी बन्दै गएपछि प्रदेश सरकारले सबै बिद्यालयमा लागू गर्ने तयारी गरेको हो ।

बिद्यालयका नर्सले सामान्य स्वास्थ्य परीक्षण, पोषण लेखाजोखा, नियमित स्वास्थ्यवारे जानकारी गराउने, प्राथमिक उपचारको व्यवस्था, किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य, स्वास्थ्य तथा सरसफाईसम्बन्धी परामर्श लगायतका सेवा दिनेछन् । बागमती प्रदेश सरकारले चालु वर्ष ३ सय २९ वटा विद्यालयका लागि नर्सहरुको आवेदन माग गरेको छ । जसअनुुसार यसअघि फागुन २४ गते पहिलोपल्ट आवेदन माग गरिएकोमा दोस्रो पटक पुन म्याद थप गरी आवेदन माग गरिएको हो ।

एक बिद्यालय एक नर्स कार्यक्रम सञ्चालन दोस्रो संशोधन कार्यविधि २०८० को दफा १५ को उपदफा २ बमोजिम चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म एक साताको म्याद थप गरी आवेदन माग गरिएको थियो । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सो कार्यक्रमका लागि ४ सय ५७ जना नर्स माग गरिएकोमा २ हजार २ सय ६१ जनाले आवेदन दिएका छन् । सो कार्यक्रम अन्तर्गत नर्सलाई आवश्यक पर्ने सामाग्री, तलब सुबिधाको जिम्मा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले लिएको छ । हालसम्म यो कार्यक्रम सरकारी बिद्यालयमा मात्रै लागू गरिएको छ ।