images
images

जनहित र चित्रेश्वर बहुउद्धेस्यीय सहकारी वीच एकिकरण

  • १६ भाद्र २०८०, शनिबार १८:२७

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित जनहित बहुउद्धेस्यीय सहकारी संस्था र सेरावेशीमा रहेको चित्रेश्वर बहुउद्धेस्यीय सहकारी संस्थाबीच एकिकरण भएको छ ।

जनहितको २२ औं र चित्रेश्वरको २१ औं वार्षिक साधारणसभाको अवसर पारेर दुई सहकारी संस्थाबीच आज एकिकरण भएको हो । एकिकरणपछि बनेको सहकारी संस्थाको नाम जनहित चित्रेश्वर बहुउद्धेस्यीय सहकारी संस्था राखिएको छ । १० करोड कुल पूँजि र ३ हजार ५ सय शेयर सदस्य भएको चित्रेश्वर बहुउद्धेस्यीय सहकारी र ४० करोड ४२ लाख कुल पूँजि र तीन हजार शेयर सदस्य रहेको जनहित बहुउद्धेस्यीय सहकारीबीच एकिकरण भएको छ । सदरमुकाम चरिकोटमा आयोजित साधारण सभाको अवसरमा दुई वटा बहुउद्धेस्यीय सहकारी संस्थाबीच एकिकरण भएको घोषणा गरिएको हो ।

एकिकरणसँगै दोलखामा सञ्चालनमा रहेका बहुउद्धेस्यीय सहकारी संस्थामध्ये जनहित चित्रेश्वर सवैभन्दा ठुलो बहुउद्धेस्यीय सहकारी बनेकोे संचालकहरुले दावी गरेका छन् । यसअघि साना लघुवित्तसँग एकिकरण गरेको जनहितले पहिलो पटक पूँजीका हिसावले ठुलो रहेको चित्रेश्वर बहुउद्धेस्यीय सहकारी संस्थासँग एकिकरण गरेको हो । चित्रेश्वर बहुउद्धेस्यीयको भीमेश्वर नगरपालिका र शैलुङको मागापौवामा कार्यक्षेत्र थियो ।

जनहित बहुउद्धेस्यीय सहकारी संस्थाका अध्यक्ष दिनेश बस्नेतको अध्यक्षतामा सम्पन्न सधारणसभामा कोषाध्यक्ष राम ओलीले ४० करोड ४२ लाख बराबरको आर्थिक प्रतिवेदन र सचिव श्यामकृष्ण कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जनहितले ३० करोड ऋण लगानी गरेको छ भने २८ करोड बचत छ । साधारणसभामा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौंलागाई, भीमेश्वर नगरपालिकाका आर्थिक सहकारी विभाग प्रमुख नारायण सेढाई, अर्थभुमी साकोसका अध्यक्ष कृष्ण दहाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच, जनहित चित्रेश्वर बहुउद्धेस्यीय सहकारी संस्थामा नवराज न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको उपाध्यक्षमा श्यामकृष्ण कायस्थ, सचिवमा राम ओली, सहसचिवमा गणेश प्रसाद न्यौपाने र कोषाध्यक्षमा भरत ढुंगेल चयन भएका हुन् । सहकारी एकिकरणपछि कार्यसमिति पनि सर्वसम्मत चयन गरिएको हो ।