images
images

सुरीको काप्ती हाइड्रोका उपकरण लिलामीको चलखेल, हरहिसाव फरफारक गर्न प्रशासनको निर्देशन

  • १६ चैत्र २०८०, शुक्रबार १६:०९

दोलखा । दोलखाको उत्तरी गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीमा करोड बढीको लागतमा निर्माण गरिएको काप्ती खोला लघु जलबिधुत आयोजनामा अनियमितता भएको उजुरी पछि स्थानीय प्रशासनले आयोजनाको लेखापरिक्षण गरी हरहिसाव फरफारक गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले काप्ती खोला लघु जलबिधुत आयोजनालाई लिखित पत्राचार गर्दै लेखापरिक्षण र सार्वजनिक सुनुवाई गरी हरहिसाव फरफराक गराउन निर्देशन दिएको हो । केही महिनादेखि बिधुत उत्पादन बन्द रहेको आयोजनाका उपकरण लिलाम विक्रि गर्ने तयारी गरिएका बेला स्थानीय प्रशासनको निर्देशन पछि सो प्रक्रिया रोकिएको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख वहादुर आलेले आयोजनाको हरहिसाव फरफारक गराएपछि मात्रै कानून वमोजिम लिलामी प्रक्रिया अघि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

काप्ती खोला आयोजनाको कुल लागत अहिलेसम्म सार्वजनिक नगरिएको, उपभोक्ताको लगानी स्पस्ट नभएको र आम्दानी खर्च विवरण समेत सार्वजनिक नगरी ११ लाख ८४ हजार ऋण देखाएर आयोजनाका सामान अवैधानिक तरिकाले लिलाम गर्न लागिएको भन्दै स्थानीय प्रशासनमा उजुरी परेको थियो । स्थानीय उपभोक्ताहरु ध्रुवदेव खड्का, आङदेण्डि शेर्पा, आङछिरी शेर्पा, रामवहादुर खड्का, कविता गुरुङ लगायतले प्रशासनमा चैत्र ९ गते जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका थिए ।

५० किलो वाट क्षमताको काप्ती खोला लघु जलबिधुत आयोजना २०६९ सालमा निर्माण गरिएको थियो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ७० लाख, स्थानीय उपभोक्ताको श्रमदान र श्रमदानमा उपस्थित हुन नसक्नेहरुवाट प्रति घरधुरी १६ हजारका दरले रकम उठाएर सो लघु जलबिधुत आयोजना निर्माण गरिएको थियो । आयोजना निर्माणमा स्थानीयको श्रमदानसहित एक करोड बढी खर्च भएको अनुमान गरिएको छ । आयोजनावाट उत्पादित बिजुली साविक सुरी गाविसको १,२, ३, ४ र ५ नम्बर वडाका २८२ भन्दा बढी घरधुरीले उपभोग गर्दै आएका थिए ।

सुरीमा राष्ट्रिय प्रसारण लाइन बिस्तार भएपछि केही महिना अघिवाट काप्ती खोलाको बिधुत उत्पादन बन्द भएको थियो । बिधुत उत्पादन बन्द भएपछि आयोजनाका अध्यक्ष जंग गुरुङ सहितका पदाधिकारीले आयोजनाको लागत, आम्दानी र खर्चको यकिन विवरण सार्वजनिक नगरी नियम बिपरित गुपचुपमा आयोजनाका उपकरण र सामान लिलाम गर्न खोजेको आरोप छ । आयोजनाको मोर्टर, टनेल, बिधुतीय पोल, तार लगायतका सामाग्रि लिलाम गर्नकालागि चैत्र ९ गतेको मिति तय गरिएको थियो । उजुरी र विवादपछि हालकालागि लिलामी प्रक्रिया रोकिएको छ ।

काप्ती लघु जलबिधुत आयोजनाका अध्यक्ष जंग गुरुङले भने आयोजना निर्माणको क्रममा ९० लाख ५० हजार बराबरको सामान खरिद भएको र अझै ११ लाख ८४ हजार ऋण रहेको बताउनुभयो । आयोजनाको नियमित लेखापरिक्षण र सार्वजनिक सुनुवाई समेत भएको दावी गर्दैै अध्यक्ष गुरुङले लिलाम प्रक्रिया कानुनी प्रक्रिया वमोजिम हुने प्रतिक्रिया दिनुभयो । बिरोध गर्ने नियतका साथ यो बिषयलाई विवादित बनाइएको उहाँको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाको निर्देशनः

उपभोक्ताले प्रशासनमा दिएको उजुरीः