images
images

पवटीको सहकारी चोरी घटनाः आत्महत्या दुरुत्साहन मुद्धामा संचालक र व्यवस्थापक धरौटीमा रिहा

दोलखा । दोलखाको मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सुर्योदय सहकारी संस्थाका पूर्व कोषाध्यक्षको आत्महत्याको घटनापछि पक्राउ परेका संचालक र व्यवस्थापक धरौटीमा रिहा भएका छन् ।

आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका हाम्रो सुर्योदय सहकारीका अध्यक्ष छत्रराज उप्रेती, सचिव हरिवहादुर खड्का र व्यवस्थापक महेन्द्र भुजेल दोलखा जिल्ला अदालतको आदेश वमोजिम रिहा भएका हुन् । दोलखा जिल्ला अदालतमा आज भएको थुनछेक बहशपछि जिल्ला न्यायधिश माधवप्रसाद सुवेदीको इजलाशले उनीहरुलाई जनही २/२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सोही आदेश अनुसार उनीहरु धरौटी बुझाएर रिहा भएको दोलखा प्रहरीले जनाएको छ ।

हाम्रो सुर्योदय सहकारी संस्थाका पूर्व कोषाध्यक्ष एवँ संस्थाको कार्यालय रहेको घरका घरवेटी कपिलमणि न्यौपानेले गत फागुन ५ गते आत्महत्या गरेपछि सहकारी संचालक र व्यवस्थापकलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएर अनुषन्धान सुरु गरेको थियो । सहकारी चोरीको घटनामा प्रहरीले अनुषन्धान गरिरहेका न्यौपानेले सहकारी संचालक लगायत केही व्यक्तिको नाम किटान गरी सामाजिक सञ्जालमा स्टाटस लेखेर आत्महत्या गरेका थिए ।

त्यस लगत्तै मृतकका परिवारजनले सहकारी संचालक, पूर्व संचालक र व्यवस्थापकसहित २४ जना बिरुद्ध दोलखा प्रहरीमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । सो जाहेरीका आधारमा दोलखा प्रहरीले सहकारी अध्यक्ष छत्रराज उप्रेती, उपाध्यक्ष पुष्प लकाई, सचिव हरिवहादुर खड्का र व्यवस्थापक महेन्द्र भुजेललाई फागुन ६ गते नियन्त्रणमा लिई हिरासतमा राखेर अनुषन्धान गरेको थियो । प्रहरीले अनुषन्धान पुरा गरी हिजो जिल्ला सरकारी वकिल कार्यालयमा मुद्धा बुझाएको थियो ।

तर, जिल्ला न्यायधिवक्ताले पक्राउ परेका ३ र फरारको सूचिमा रहेका ८ सहित ११ जना बिरुद्ध मात्रै मुद्धा चलाउने निश्कर्षसहित अदालतमा अभियोग पत्र दर्ता गरेका थिए । प्रहरी हिरासतमा रहेका संस्थाका उपाध्यक्ष पुष्प लकाई र सहसचिव शिववहादुर कार्कीलाई जिल्ला न्यायधिवक्ताले मुद्धा नचलाउने निश्कर्षसहित हिजै रिहा गर्न आदेश दिएका थिए । बाँकी ११ जनालाई मुलुकी अपराध संहिता २०७४ दफा १८५ (१) वमोजिमको कसुरमा सोही संहिताको दफा २ वमोजिम सँजायको माग दावी गरिएको थियो । यो माग दावी अनुसार उनीहरुलाई ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।

को–को छन् फरारको सूचिमा ?
आत्महत्या दुरुत्साहनको मुद्धामा फरारको सूचिमा रहेकाहरुमा सहकारीका कोषाध्यक्ष हेमराज उप्रेती, पूर्व सचिव एवँ सत्यस्वर माविका प्रधानाध्यापक मुकुन्द उप्रेती, सहकारीका पूर्व संचालक सोभित उप्रेती र सहकारीका कर्मचारी रामशरण कार्की रहेका छन् । यस्तै, पवटी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का र मुना कोइरालालाई पनि फरारको सूचिमा राखिएको छ ।

आत्महत्या दुरुत्साहनको मुद्धामा अदालतवाट पुर्पक्षको आदेश भएपनि हाम्रो सुर्योदय सहकारीवाट गत माघ १५ गते ३२ लाख ८७ हजार चोरी भएको भनिएको घटनाको भने अझै गहिरो अनुषन्धान हुन सकेको छैन ।

तस्वीरः सहकारी चोरीको घटनामा प्रहरीले अनुषन्धान गर्ने क्रममै सुसाईड नोट लेखेर आत्महत्या गरेका पूर्व कोषाध्यक्ष एवँ घरवेटी कपिलमणि न्यौपाने । उनको आत्महत्या घटनामा २४ जना बिरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेको थियो ।