images
images

बञ्चरे घटनामा तीन जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता

  • १९ असार २०८०, मंगलवार १७:२५

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकास्थित बञ्चरे घटनामा तीनजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता भएको छ ।

असार १५ गते कालिञ्चोक गाउँपालिका– ४ बञ्चरेमा पार्किङ गरि राखिएको बा ३ ख ८३९ नम्बरको यात्रुबाहक बसभित्र गौरीशंकर गाउँपालिका ३ महताराका ४५ वर्षिय नारायण बहादुर खत्री मृत फेला परेका थिए । सो घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखामा तीन जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता भएको हो । मृतक खत्रीका दाईले मुदा दर्ता गराएका हुन् । घटनामा संलग्न भएको आरोपमा भीमेश्वर नगरपालिका–९ का विकास तमाङ, भीनपा ५ का अनुप कार्की र सिन्धुपाल्चोकका सुमन श्रेष्ठ विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता भएको छ । घटना लगत्तै पक्राउ परेका तीन जना विरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत दोलखाबाट एकसाताको म्याद लिइएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई जना बसका कर्मचारी र एक जना बञ्चरे गुम्न पुगेका पुरुष विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता भएको हो । असार १४ गते काठमाडौंबाट आएको बस बञ्चरेमा पुगेर बास बसेको थियो । सोही बसभित्र शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा खत्रीको शव फेला परेको थियो । घटना लगत्तै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइएकोमा उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता भएको हो ।

मृतक खत्रीको शव घटना भएको चार दिनपछि सोमबार परिवारजनले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखामा प्रतिनिधिसभाका सांसद गंगा कार्कीको रोहवरमा भएको छलफलमा पिडित परिवारलाई उचित क्षतिपुर्ति दिलाउने, मृतकका तीन जना छोराछोरीलाई अरनिको यातायातले निशुल्क शिक्षा प्रदान गर्ने सहमति भएपछि मृतकका आफन्तजनले शव बुझेका थिए ।