images
images

चोलेन्द्रकी श्रीमती रेजी राणाको नाममा कहाँबाट आयो अर्बको अवैध सम्पत्ति ?

  • २१ पुष २०७८, बुधबार ०९:४१

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका परिवार र अन्य आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन दिएका डा गोविन्द केसीले यसै विषयमा अर्को उजुरी पनि हालेका छन् । यसअघि डा. केसीले यही पुस ११ गते प्रधानन्यायाधीश जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा स्रोत नखुलेको सम्पत्ति रहेको भन्दै छानबिन र कारबाही गर्न माग गरी पहिलो निवेदन दिएका थिए ।

विभागले प्रधानन्यायाधीश जबराका नाममा रहेको सम्पत्ति छानबिन गर्ने अधिकार नभए पनि उनका आफन्तका नामको सम्पत्तिमाथि छानबिन सुरु भइसकेको जनाएको छ । गत पुस ११ मा निवेदन परेपछि विभागले उपसचिव मोहन ढकाल र शाखा अधिकृत कृष्ण मैनालीलाई अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको हो ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट डा केसीले हिजो (मंगलबार) पूरक निवेदन दिएका हुन् । जसमा उनले प्रधानन्यायाधीश जबराकी पत्नी रेजी राणा क्षत्रीका नाममा अवैध स्रोतबाट आर्जित एक अर्ब बढीको सम्पत्ति रहेको दाबी गर्दै छानबिन गर्न विभागसँग आग्रह गरेका छन् ।

डा. केसीको पूरक निवेदनमा राणाका नाममा २०६५ असोज ४ मा काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराहीमा तीन कित्ता जग्गा खरिद गरेको भेटिएको उल्लेख छ । कित्ता नं. ३४२, ४७१ र ४८४ का ती जग्गा अवैध स्रोतको आम्दानीबाट खरिद गरेको दाबी गरिएको छ । विभागले मंगलबार दर्ता गरेको पूरक निवेदनमा २०६५ मंसिर ४ मा काठमाडौं महानगरपालिका–३० स्थित ठमेलमा पनि १०९, ११० र १११ कित्ता नम्बरका जग्गा खरिद गरेको भेटिएको दाबी छ । यी तीन कित्ताको क्षेत्रफल २० आना छ ।

त्यस्तैगरी गत वर्ष असार १७ मा काठमाडौं महानगरपालिका–५ स्थित भाटभटेनीमा कित्ता नम्बर ७ को एक रोपनी ८ आना जग्गा खरिद गरेको डा. केसीले निवेदनमा उल्लेख गरेका छन् । राणाका नाममा भएका जग्गा र तिनलाई खरिद गर्ने पैसाको स्रोत छानबिन गर्न, तत्काल जग्गा रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न र अवैध सम्पत्ति जफत गरी हदैसम्म सजाय गर्न डा. केसीले निवेदनमा माग गरेका छन् ।