images
images

सुन तस्करलाई नेपाली नागरिकता दिलाउने बागमती प्रदेशसभा सचिवालयका अधिकृत पक्राउ

  • २४ फाल्गुन २०८०, बिहीबार १५:५८

हेटौंडा । बागमती प्रदेशसभा सचिवालयका एक जना अधिकृत पक्राउ परेका छन् ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत रामचन्द्र अर्याललाई पक्राउ गरेको हो । यसअघि यातायात कार्यालय काठमाडौँ, ठुलो भ¥याङमा रहेका उनी सरुवा भएर बागमती प्रदेशसभा सचिवालयमा गएका थिए ।
मकवानपुर प्रहरीले अर्याललाई हिजो प्रदेशसभा सचिवालयबाटै पक्राउ गरेर काभ्रेपलाञ्चोकमा पठाइएको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खडकाले जानकारी दिनुभयो । अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पु¥याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए ।

सो घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २०७४ साल पौष २० गते तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ साल सम्म काभ्रे प्रशासनमा रहेका थिए ।

दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो ।