images
images

विद्युत महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो, ५० करोड रकम असुल

  • २२ कार्तिक २०८०, बुधबार १८:३५

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटिएको जनाएको छ ।

लामो समयसम्म विद्युत महशुल नतिर्ने २१ हजार उपभोक्ताको लाइन काटेर प्राधिकरणले करिव ५० करोड रकम असुल गरेको हो । असुलउपर गर्नुपर्ने विद्युत महशुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरका वितरण केन्द्रहरुले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् । विद्युत महशुल संकलन नियमावली २०७८ बमोजिम मिटर रिडिङ भएको १६ औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६ औं दिनदेखि ३० औं दिनसम्म ५ प्रतिशतका दरले र ३१ औं दिनदेखि ४० औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्राव्धान छ ।

मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि विलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औं दिनसम्म पनि बक्यौता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महशुल नतिर्ने उपभोक्तालाई कालोसुचीमा राखि असुली प्रक्रिया अघि बढाउने प्राव्धान छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि वक्यौता असुलीलाई थप सशक्त बनाउने बताउनुभयो ।