images
images

सुनखानीको मिलडाँडामा हाटबजार सुरु

  • १० फाल्गुन २०८०, बिहीबार १४:०१

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीको मिलडाँडामा कृषि उपज व्यापार केन्द्र (हाटबजार) सुरु भएको छ ।

गुमुखोला हाटबजारको सम्झनामा कालिञ्चोक ८ सुनखानीको मिलडाँडामा आजदेखि हाटबजार सुरु भएको हो । कालिञ्चोक गाउँपालिका, वडा कार्यालय र हाम्रो साना किसान कृषि सहकारी संस्थाको समन्वय तथा सहकार्यमा हाटबजार पुनः सञ्चालनमा ल्याईएको हो । मिलडाँडामा आजदेखि प्रत्येक महिनाको १० र २५ गते हाटबजार सञ्चालन हुनेछ । हाटबजारमा किसानहरुको गोठ, खोर र खेतवारीमा उत्पादित वस्तुहरु पाईने हाटबजार व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार हाटबजारमा तरकारी, फलफुल, मसला, अन्नपात, दुग्धजन्य पदार्थ, अचार, विभिन्न प्रकारका गेडागुडी, दाल, कृषि सामाग्री, मासुजन्य पदार्थ, बिउबिजन, बिरुवाहरु लगायतका सामाग्री बिक्रीवितरण हुनेछ । स्थानीयस्तरमा हुने विभिन्न प्रकारका उत्पादनलाई सहज तरिकाले बजारसम्म पु¥याउन नयाँ अभियान थालिएको सहकारीका अध्यक्ष होम पाठकले जानकारी दिनुभयो ।

किसानहरुलाई व्यवसायिक उत्पादनमा लाग्न अभिप्रेरित गर्ने, उत्पादित बस्तुहरुको खपतका लागि बजार र बजारिकरण तथा कोसेली व्यापारमा जोड दिने उद्धेश्यले हाटबजार पुन सञ्चालनमा ल्याईएको अध्यक्ष पाठकले बताउनुभयो । आफ्नो गाउँठाउँमा हुने उत्पादनले मूल्य नपाएको अवस्थामा कृषकले उत्पादन गरेका कृषि सामाग्रीको बजारीकरण गर्नसमेत हाटबजारले टेवा पुग्ने अपेक्षा गरिएको छ । सो हाटबजारबाट कालिञ्चोक गाउँपालिका र आसपासका पालिका तथा विशेष गरी उत्तरी क्षेत्रका किसान र उपभोक्ता लाभान्वित हुनेछन् ।
गुमुखोला बजारमा २०३२/०३३ सालदेखि सञ्चालनमा आएको उत्तरी क्षेत्रको सबैभन्दा ठुलो हाटबजार सिंगटीमा बाटो पुगेसँगै बन्द भएको थियो । भुकम्पपछि गुमुखोला बस्ती पनि पुरै ध्वस्त भएको थियो । सोही स्थानमा पुरानो हाटबजार पुन सञ्चालनमा आएसँगै सो क्षेत्र कृषि उत्पादन हवको रुपमा विकास हुनुका साथै उत्पादक किसानहरुको आयमा बृद्धि र बाह्य बजारको पहुँच बढ्ने अपेक्षा गरिएको हाटबजार व्यवस्थापन समितिले जनाएको छ ।