images
images

कालिञ्चोक दर्शन लिमिटेडको आम्दानीमा वृद्धि, ६ महिनामा ६४ लाख ३४ हजार रुपैयाँ खुद नाफा

  • २९ माघ २०८०, सोमबार ०९:१४

जिरी (दोलखा) । कालिञ्चोक दर्शन लिमिटेड (केडीएल) को आम्दानीमा वृद्धि हुँदै गएको छ । कम्पनीको आम्दानीमा वृद्धि भई चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा मात्रै कम्पनीले ६४ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको विवरण खुलाएको छ ।

कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै पुस मसान्तसम्ममा कम्पनीले ६४ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको विवरण खुलाएको हो । विवरण अनुसार कम्पनीको खुद नाफा धनात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ९८ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको आम्दानी ६५३ दशमलव ०८ प्रतिशत बढेर ३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यसैगरी, समीक्षा अवधिमा कम्पनीको सञालन आम्दानी ७०४ दशमलव ९४ प्रतिशत बढेको छ भने वित्तीय खर्च ८५ दशमलव २९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ६८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ३७ लाख रुपैयाँ धनात्मक भएको छ ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै, सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३८० दशमलव ३९ गुणा रहेको छ । ५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सो कम्पनीको जगेडा कोष १ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा केबलबार सञ्चालन गरिरहेको छ ।