images
images

तामाकोशी गाउँपालिकाकी पूर्व उपाध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

  • २७ फाल्गुन २०८०, आईतवार १६:१३

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिकाकी पूर्वउपाध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाकी पूर्वउपाध्यक्ष उर्मिला खड्का, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, लेखा अधिकृत विजय लुइँटेल र तत्कालीन इन्जिनियर सुवोधकुमार चापागाईसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्धा दायर भएका अन्य व्यक्तिहरुमा लेखापाल रामबहादुर कार्की, सबइन्जिनियर सिर्जना दुवाल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल, तामाकोशी–१ का तत्कालीन वडाध्यक्ष महेश्वर काफ्ले, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष होमबहादुर श्रेष्ठ र वडा नम्बर ३ का तत्कालीन तथा हालका वडाध्यक्ष रामप्रसाद काफ्ले रहेका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाअध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा गैरकानुनी रुपमा बजेट निकासा गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार उनीहरुले नक्सा अनुसारको काम नहुँदा पनि बजेट निकासा गरेका हुन् । सभाहल भवनको नक्सा अनुसार लम्बाई पनि पुरा नभएको, पिलर तथा टाई बिमको साइज तलमाथि रहेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार भवन निर्माणस्थलमा रहेको पुरानो भवनको सामग्री वडाध्यक्ष रामप्रसाद काफ्लेले बेचेर आफैँ खर्च गरेको भेटिएको छ ।

भवनको लागत अनुमान डिजाइन संशोधन नगरी निर्माण कार्यको आकार र रुप हेरफेर गर्नुका साथै निर्धारित शर्त तथा मापदण्ड विपरीत उनीहरुले भवनको निर्माण गरेका थिए । सो भवन निर्माण कार्यको भुक्तानीको लागि नापी किताब, उपभोक्तासम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन, गोश्वारा भौचर, टिप्पणी पेश गरी भुक्तानी दिन नमिल्ने १२ लाख ८९ हजार ३ सय २० रुपैयाँ रकम भुक्तानी दिएको अख्तियारले दाबी गरेको छ । भ्रष्टाचारमा मुछिएकी खड्का २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् भने वडाध्यक्ष काफ्ले नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।