images
images

कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा, १ अर्ब बढी बिगो मागदावी

  • २७ फाल्गुन २०८०, आईतवार १८:३३

काठमाडौं । काठमाडौंस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका ११ जना सञ्चालकविरुद्ध ठगीको कसुरमा मुद्धा दर्ता गरिएको छ ।

काठमाडौं जिल्ला अदालतमा सहकारीका सञ्चालकहरुविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता गरिएको हो । सकारीका सञ्चालकहरुले आकर्षक ब्याज दिन्छू भन्दै फिक्स्ड डिपोजिटमा रकम राख्न लगाई रकम फिर्ता नगरी ठगी गरेको भन्दै जाहेरी परेको थियो । सो जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरी आज जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो । कान्तिपुर सेभिङ एण्ड क्रेडिटको अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी लगायतका ११ जना सञ्चालकविरुद्ध ८ सय ५२ जना बचतकर्ताले जाहेरी दिएका थिए । उनीहरुले बचतकर्ताको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ रकम ठगी गरेकाले सोही रकम बराबरको बिगो कायम गरी ठगीको कसुरमा प्रहरीले व्यवस्थापक सिबी लामा भन्ने चन्द्रबहादुर लामा समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको हो ।

साथै, प्रहरीले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष ५४ वर्षीय हिमालय विक्रम मल्ल ठकुरी, कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्य ५२ वर्षीय सानुकान्छा लामा, सदस्य ५२ वर्षीय नारायणप्रसाद रिमाल, सदस्य इन्दु थापा सदस्य ४४ वर्षीय देवराज पराजुली, लेखा सुपरिवेक्षण समितिको संयोजक ४६ वर्षीय कञ्चन तामाङ, लेखा सुपरिवेक्षण समितिका सदस्य ६० वर्षीय उद्धवप्रसाद पाण्डे लेखा सुपरिवेक्षण समितिका सदस्य २८ वर्षीय अम्बिका थपलिया समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ ।

पूर्व अध्यक्ष एव्म व्यवस्थापक सिबी लामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका पूर्व कोषाध्यक्ष एव्म कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा सिफारिस समेत भएका छन् । मुद्धा दायर भएकाहरुमध्ये अध्यक्ष ठकुरी मात्रै पक्राउ परेका छन् भने अन्य फरारको सूचीमा रहेका छन् ।