images
images

राष्ट्रियसभाको उपाध्यक्ष पदमा विमला घिमिरे निर्वाचित

  • २८ चैत्र २०८०, बुधबार १५:०४

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् ।

राष्ट्रियसभाको बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत परेको छ । घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका हुन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी पुडासैनीको भने पक्षमा १६ र विपक्षमा ३९ मत परेको छ ।

बैठकमा मतदानअघि उपाध्यक्ष पदमा नेपाली कांग्रेसका पुडासैनी र नेकपा एमालेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावबारे जानकारी गराइएको थियो । दुवै प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि मत विभाजनमार्फत निर्वाचन भएको थियो । यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।

सत्ता गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएअनुसार नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष बनेका थिए । राष्ट्रियसभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्काे कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएर एमालेकी घिमिरेलाई अघि सारिएको थियो ।