images
images

हराएका मोटरसाईकल खोज्दै ट्राफिक प्रहरीः ३०९ वटा फेला, ३८ जना पक्राउ

  • २९ माघ २०७८, शनिबार ०८:२०

काठमाडौं । ट्राफिक प्रहरी महाशाखामा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उमेशराज जोशी महाशाखा प्रमुख भएर आएसँगै चोरी भएका मोटरसाइकल खोज्नका लागि विशेष अभियान सुरु गरिएको छ ।

जसअन्तर्गत चालु वर्षको हालसम्मको अवधिमा हराएका मोटरसाइकलमध्ये ३ सय ९ वटा मोटरसाइकल फेला परेका छन् । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ८ सय ३१ वटा मोटरसाइकल हराएको भन्दै महाशाखामा निवेदन परेकोमा ३ सय ९ वटा मोटरसाइकल फेला परेको हो । तीमध्ये २ सय ४४ वटा सवारीधनीलाई जिम्मा लगाइसकिएको छ भने चोरीमा संलग्न ३८ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीले विभिन्न स्थानबाट चोरीको मोटरसाइकल सहित ३८ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान एवम् कारवार्हीका लागि विभिन्न प्रहरी बृतहरुमा पठाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी उपरिक्षक (एसपी) सञ्जीव शर्मा दासका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मोटरसाइकल हराएको भन्दै १ हजार ३ सय ७९ वटा निवेदन परेको थियो । त्यसमध्ये ३ सय ५५ वटा मोटरसाइकल फेला परेको छ भने चोरीमा संलग्न ३८ जनालाई प्रहरीले पक्राउ गरेर कारवाही गरिएको छ । यस्तै गत वर्ष २०७७/७८ मा १ हजार ३ सय ५६ वटा मोटरसाईकल हराएको निवेदन परेकोमा ३ सय ९७ वटा मोटरसाइकल प्रहरीले फेला पारेको थियो । सो मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ५१ जनालाई प्रहरीले कारवाही गरेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमै ८ सय ३१ वटा मोटरसाईकल हराएकोमा ३ सय ९ वटा फेला परिसकेको छ भने ३८ जना पक्राउ परिसकेका छन् ।

ट्राफिक प्रहरी महाशाखाको तीन आर्थिक वर्षमा मोटरसाईकल चोरी सम्बन्धी तथ्यांक हेर्दा चालु वर्ष सबैभन्दा धेरै मोरसाईकल चोरी गर्ने पक्राउ परेको देखिएको छ । चोरी भएका मोटरसाईकल र चोरको गिरोह पत्ता लगाउन ट्राफिक प्रहरी महाशाखाले अभियान चलाएको र सादा पोसाकमा समेत ट्राफिक प्रहरी खटाएको एसएसपी जोशीले बताउनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यका र उपत्यका बाहिरबाट समेत धमाधम चोरीका मोटरसाइकल बरामद हुन थालेका छन् । योसँगै चोरीमा संलग्न गिरोहरुलाई पनि पक्राउ गरेर आवश्यक कारवाही गरिएको छ ।