images
images

सत्तारुढ पाँच दलबीच सात बुुँदे सहमति (हेर्नुहोस् विवरण)

  • २९ फाल्गुन २०८०, मंगलवार १२:१८

काठमाडौँ । सत्तारुढ पाँच दलबीच सात बुँदे सहमति भएको छ ।

सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीका बीच सात बुँदे सहमति भएको हो । बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुले सहमति गरेका हुन् । सहमतिपत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुद्दृढ र सफल पार्ने उल्लेख छ ।

साथै, राष्ट्रियसभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादीका उम्मेद्धवारलाई समर्थन गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग संवाद अघि बढाउने सहमति भएको छ । जनचाहना अनुरुप सुशासन, विकास र सामाजिक न्यायका आकांक्ष पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तराष्ट्रिय सम्बन्धको विकास गर्ने सहमति पत्रमा उल्लेख छ । पाँच दलबीच नेपालको संबिधानको मर्म र भावनाअनुरुप संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढंगले अघि बढ्ने सहमति भएको छ ।

यसैबीच, सत्ता साझेदार नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा गठबन्धनका उम्मेदवार र प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई विश्वासको मत दिन तयार भएको छ । वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल राष्ट्रियसभा अध्यक्षको निर्वाचन र विश्वासको मतमा सत्ता गठबन्धनलाई सघाउन सहमत भएका हुन् । अध्यक्ष नेपालले उठाएका माग समेटेर पाँचै दलले हस्ताक्षर गर्ने सहमतिपछि गठबन्धनका पक्षमा मत दिन तयार भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।