images
images

महिला च्यापेर करोडौं ठगी, काभ्रेपलाञ्चोकका कुमार ‘मास्टर प्लानर’

  • २ फाल्गुन २०८०, बुधबार १५:०३
काठमाडौं । करोडौं ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोकका कुमार थापा र सिन्धुलीका रविन कुमार थापा सहित चार जना पक्राउ परेका छन् ।
व्यापारीको भेषमा विभिन्न बहाना बनाएर चार जनाबाट ७ करोड ७७ लाख ५९ हजार गठी गरेको आरोपमा प्रहरीले एक महिला सहित चार जनालाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुमार थापासहित चार जनालाई पक्राउ गरेको हो । काभ्रेका थापा भक्तपुरको कमलविनायकबाट पक्राउ परेका हुन् ।
यस्तै, सिन्धुलीका रवीन कुमार थापा, स्याङ्जाकी मीना दमै र सप्तरीका दिलिप कुमार लाभ पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आफू सुनका गरगहना विदेशमा निर्यात गर्ने व्यापारी भएको भन्दै थापाले पोखराको विभिन्न व्यवसायीहरूसँग सुन खरिद गर्ने नाममा ठगी गरेको पाइएको छ । विरेन्द्र सुनारले आफू ठगिएको थापा पाएपछि जिल्ला प्रशासन कार्यालय कास्कीमा २ करोड बिगोको मुद्दा दर्ता गरेका थिए । त्यसलगत्तै यसबारे सम्बन्धित निकायबाट पत्राचार भएपछि कार्यालयको टोलीले उनलाई पक्राउ गरेको रेग्मीले जानकारी दिनुभयो ।
थापालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मिना दमै, रविन कुमार थापा र दिलीप कुमार लाभको समेत संलग्नता खुलेको हो । मीना दमैविरुद्ध कास्कीमा १ करोड ७० लाख ५९ हजार बिगो मागदावी भएको मुद्दा छ । उनले चितवनमा समेत १ करोड ३६ लाख ठगी गरेको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । रविन कुमार थापाले चितवन जिल्लामा ४ वटा बैङ्किङ कसुर तथा ठगी मुद्दामा २ करोड ४५ लाख ठगी गरेको देखिएको र काठमाडौँमा ३ वटा मुद्रामा फरार रहेको पाइएको छ ।
दिलीप कुमार लाभ २ वटा मुद्दामा फरार थिए । थापाले पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाखका गहना खरीद गरेका थिए भने पछि विश्वास जितेर १ करोड ८० लाखका गहना बाहिर निर्यात गर्ने भनी लिई चेकमार्फत भुक्तानी गरेर योजनाबद्ध रुपमा ठगी गरेको खुलेको छ ।
यसैगरी लाभले भक्तपुर सुडालमा अरु व्यक्तिको नाममा रहेको जग्गा भए पनि आफ्नो भनेर परिवार अटो मोबाइलबाट २६ लाख रकम ठगेको खुलेको छ । यस्तै तीन गाडी समेत लगेको खुलेको छ । प्रहरीका अनुसार ठगीमा मीना दमैलाई प्रयोग गरेको पाइएको छ । मिना दमै उपर कास्कीमा ७ वटा ठगीका मुद्दा दर्ता भएको देखिएको छ भने चितवनमा पनि २ वटा मुद्दा दर्ता भएका छन् । कुमार थापा विरुद्ध पनि कास्कीमै २ करोड ठगीमा बैङ्किङ कसुर मुद्दा दर्ता भएको पाइएको छ ।
यस्तै रविन कुमार थापाविरुद्ध चितवनमा ४ वटा मुद्दा र काठमाडौँमा ३ वटा मुद्दा दर्ता भई फरार रहेको पाइएको छ । कुमार थापाले मिना दमैलाई देखाई निजको नामको चेक दिने र निज बाटै कारोबार गर्ने गरेको पाइएको छ । कारोबार गर्दा विश्वास पार्न महिला प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।