images
images

करिब ५३ महिनापछि नागढुंगा सुरुङमार्ग ब्रेक थ्रु

  • ३ बैशाख २०८१, सोमबार १४:२८

काठमाडौँ । धादिङको सिस्नेखोलाबाट काठमाडौँको बलम्बु जोड्ने नागढुंगा सुरुङमार्ग ब्रेक थ्रु भएको छ ।

२ दशमलव ६ किलोमिटर लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैँकको सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भएको हो । उपत्यका जोड्ने मुख्य सडकमा नेपालको यातायात क्षेत्रले पाएको पहिलो सुरुङमार्ग आज दिउँसो ब्रेक थ्रु भएको हो । मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था र सडक ढलान लगायतका काम हुने भएको छ । यो सुरुङमार्गको उद्धघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा पनि गर्नुभयो । सुरुङ प्रयोगकर्ता काठमाडौँको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमा आउजाउ गर्न सकिने निर्माण आयोजनाले जनाएको छ । तर मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो । जलविद्युत उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ भए पनि हालसम्म यातायतका सवारीसाधन सञ्चालन हुने सुरुङमा छैनन् ।

यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण रहेको छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता समन्वय महाशाखा प्रमुख भीमार्जुन अधिकारीले सुरुङमार्ग ब्रेक थु्र भए पनि केही जग्गाका समस्या कायम रहेको बताउनुभयो । उहाँका अनुसार मुख्य सुरुङ मार्ग छेडिन अब २ मिटर मात्रै बाँकी रहेको छ । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका रहेका छन् ।