images
images

शैलुङमा चालु वर्षको फागुनसम्म ८० योजना सम्पन्न

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ८० वटा योजना सम्पन्न गरेको छ ।

पालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्मको अवधिमा वडास्तरीय ६५ र गाउँपालिका स्तरीय २० ओटा गरी ८० वटा योजना सम्पन्न गरेको हो । सम्पन्न भएका ४४ वटा योजनाको भने भुक्तानी पनि भैसकेको छ । पालिकामा १ सय ६२ वटा योजना सञ्चालनमा रहेकोमा वडास्तरीय ३२ र गाउँपालिकास्तरीय १२ ओटा गरी ४४ वटा योजना सम्पन्न भई भुक्तानी समेत भइसकेको गाउँपालिकाले जनाएको छ । पालिकामा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा १५९ ओटा योजना सम्झौता भैसकेको छ भने हिउँदे गाउँसभाबाट संशोधन भएको र थप समेत २८ वटा योजना सम्झौता हुन बाँकी रहेको छ । बाँकी योजना पनि छिट्टै सम्झौता हुने गरी काम अघि बढाईएको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कार्यान्वयनमा रहेका योजना असार अगावै सम्पन्न गरिसक्ने लक्ष्य लिएको बताउनुभयो ।

गाउँपालिकामा चालु वर्ष ९ वटा योजना ठेक्का प्रक्रियामार्फत र १ सय ५३ ओटा योजना उपभोक्ता समितिमार्फत सञ्चालन भएका हुन् ।  चालु आर्थिक वर्ष पालिकामा १ सय ४ ओटा वडास्तरीय, ४९ वटा गाउँपालिकास्तरीय योजना सञ्चालनमा रहेका छन् । यस्तै, प्रदेशको सशर्ततर्फ ४, प्रदेश समपुरक तर्फ २, प्रदेश विशेष १ ओटा गरी ७ वटा योजना सञ्चालनमा रहेका छन् भने संघको विशेषतर्फबाट २ ओटा योजना सञ्चालनमा रहेको छ ।
पालिकाले चालु आर्थिक वर्षमा कुल ६१ करोड ६३ लाख ४८ हजार बजेट विनियोजन गरेको छ । पूजीगत तर्फ २६ करोड ७४ लाख रकम विनियोजन गरिएकोमा २० दशमलव ६१ प्रतिशत अर्थात ५ करोड ५१ लाख ३ हजार ९ सय ४३ रुपैयाँ खर्च भएको छ ।

यस्तै, चालु तर्फ ३४ करोड ८९ लाख ४८ हजार बजेट विनियोजन गरिएकोमा ३७ दशमलव ४५ प्रतिशत अर्थात १३ करोड ६ लाख ६७ हजार २ सय ८८ रुपैयाँ खर्च भएको गाउँपालिकाका लेखा अधिकृत प्रकाश बोगटीले जानकारी दिनुभयो । पालिकाले सम्झौता हुन बाँकी योजना चैत २५ गतेभित्र सम्झौता गरिसक्न आब्ह्वान गरेको छ ।