images
images

चालु वर्षबाट वैदेशिक भ्रमण प्याकेजमा ५ प्रतिशत पर्यटन शुल्क

  • १ श्रावण २०८०, सोमबार ११:४९

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरूसँगै सरकारले गत जेठ १५ गते ल्याएको बजेट  कार्यान्वयनमा आएको छ । तीन वटा नयाँ शीर्षक कर लगाउन थालिएको छ। 

१५ जेठमा पेस गरिएको बजेटले चालु वर्षबाट वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ। यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने व्यवस्था थियो । बजेटमा व्यवस्था गरिएको विलासिता कर र वैदेशिक भ्रमण प्याकेजमा ५ प्रतिशत पर्यटन शुल्क पनि आजैबाट लागू भएको छ । अब वैदेशिक भ्रमणको प्याकेज खरिद गर्दा लाग्ने शुल्कमा ५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ। विदेश भ्रमण निरूत्साहित र भ्रमणका नाममा जाने विदेशी मुद्रा कम गर्नका साथै स्वदेशी पर्यटन प्रवर्द्धन गर्न यो व्यवस्थाले सहयोग पुर्‍याउने दाबी सरकारी अधिकारीहरूको छ।

हवाई उडानमा पनि आजैबाट मूल्य अभिवृद्धि कर लाग्ने भएको छ । यसका लागि हवाई यातायात सेवामा आर्थिक ऐन, २०५० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकोले कर लाग्ने कारोबारको सीमा २० लाख रूपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्ने उल्लेख छ । हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि करमा दर्ताको लागि दरखास्त दिनु पर्ने विभागले जनाएको छ ।

सरकारले ‘लक्जरी’ करका नाममा होटलको सेवा लागत पनि बढाएको छ। पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरूले प्रदान गर्ने सेवामा र १० लाखभन्दा बढीको बहुमूल्य धातुमा २ प्रतिशत विलासिता कर पनि कार्यान्वयनमा आएको छ । तारे स्तरका होटलमा बस्ने ग्राहक र त्यहाँ सेवा लिनेलाई पनि यस्तो कर लाग्नेछ। अब जम्मा तिर्नुपर्ने रकममा ग्राहकले थप २ प्रतिशत लक्जरी कर तिर्नुपर्छ। यो रकमसहितको कुल रकममा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको छ।

आयातित मदिरा र १० लाख रूपैयाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गहनामा पनि सोही दरमा कर लागेको छ । दस लाख रूपैयाँभन्दा धेरै गरगहना किन्यो भन्ने अरू करबाहेक थप २ प्रतिशत लक्जरी कर तिर्नुपर्नेछ।