images
images

सूर्योदय सहकारीका संचालक र व्यवस्थापक दोलखा प्रहरीको नियन्त्रणमा

  • ६ फाल्गुन २०८०, आईतवार १४:१६

दोलखा । दोलखा प्रहरीले करिव ३३ लाख चोरी भएको दोलखाको पवटीस्थित हाम्रो सूर्योदय वचत तथा ऋण सहकारी सँस्था लिमिटेडका संचालकहरुलाई नियन्त्रणमा लिएको छ ।

मेलुङ गाउँपालिका–१ पवटीस्थित सूर्योदय सहकारी चोरीको घटनाले नयाँ मोड लिएपछि प्रहरीले आज विहान सूर्योदयका अध्यक्षसहितका पदाधिकारी र व्यवस्थापकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखावाट खटिइएको प्रहरी टोलीले सहकारीका अध्यक्ष छत्रराज कोइराला, उपाध्यक्ष पुष्पवहादुर कार्की, सचिव हरिवहादुर खड्का, सह–सचिव शिववहादुर कार्की र व्यवथापक महेन्द्र भुजेललाई नियन्त्रणमा लिई सदरमुकाम चरिकोट ल्याएको छ । केही दिनअघि ‘पोलिग्राफ’ परिक्षण गरेर पठाईएका व्यवस्थापक भुजेल पुनः पक्राउ परेका हुन् ।

दोलखा प्रहरीले सहकारीका संचालक बिरुद्ध किटानी जाहेरी परेको र अनुषन्धानकालागि नियन्त्रणमा लिएको जनाएको छ । सूर्योदय सहकारीको कार्यालय रहेको पवटीको रमाइलो चोकस्थित घरका घरवेटी एवँ सो सहकारीका पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपानेले सनिवार आत्महत्या गरेपछि सहकारी चोरीको घटनाले नयाँ मोड लिएको थियो । न्यौपानेले आत्महत्या गर्नु अघि सहकारी चोरीको घटना संचालकले गरेको नाटक भएको र व्यवस्थापक महेन्द्र भुजेल प्रमुख प्रयोगको पात्र मात्रै भएको सामाजिक सञ्जालमा लेखेका थिए । न्यौपानेले आत्महत्या गरेपछि उनका भाइ कोशिसमणि न्यौपानेले जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएका थिए । सोही आधारमा दोलखा प्रहरीले चार जना संचालक र व्यवस्थापकलाई नियन्त्रणमा लिएको हो ।

व्यवस्थापक भुजेललाई यसअघि पनि प्रहरीले पटक–पटक पक्राउ गरी रिहा गर्दै आएको थियो । सहकारी चोरी प्रकरणमा सूर्योदयका अर्का एक कर्मचारी र पवटी रमाइलो चोकमा होटल व्यवसाय गर्ने अर्का एक युवक पनि प्रहरी हिरासतमा छन् ।