images
images

जिरी गुम्बावाट गुरु रिन्पोछेको मूर्ति चोरी, अन्य मूर्तिहरु तोडफोड

  • ८ फाल्गुन २०८०, मंगलवार ११:४३

जिरी (दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीस्थित जिरी गुम्वावाट गुरु रिन्पोछेको मूर्ति चोरी भएको छ ।

जिरी नगरपालिका वडा नम्बर ५ मा रहेको कुन्शल थोङ्डोलिङ गुम्वाबाट गय राति गुरु रिन्पोछेको मूर्ति चोरी भएको हो । इलाका प्रहरी कार्यालय जिरीका अनुसार सो गुम्वामा रहेको माटोले बनेको मूर्ति चोरी भएको छ भने अन्य मूर्तिहरु समेत तोडफोड गरिएको छ । आज विहान २ देखि ३ बजेको समयमा गुम्वामा चोरी भएको अनुमान गरिएको छ ।

जिरीको लिंकन बजारभन्दा केही माथि रहेको सो गुम्वामा लामा बिधार्थीहरु समेत अध्ययन गर्ने गर्दथे । भूकम्पले भत्किएको गुम्वालाई मर्मत गरी सोही भवनभित्र गुरु रिन्पोछे र अन्य मूर्ति तथा पुजा सामाग्रिहरु राखिएको थियो । सोही स्थानमा लामा विधार्थीहरु अध्ययन र ध्यान गर्ने गर्दथे । गुम्वामा अध्ययन गर्ने लामा विधार्थी छुट्टै कटेजमा सुत्ने गरेको र गुम्वामा राति कोही पनि नहुने बताइएको छ ।

इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक शरण महर्जनले मूर्ति चोरीको घटना पुष्टि गर्दै अनुषन्धान भइरहेको बताउनुभयो । हराएको मूर्ति कति पुरानो र बहुमुल्य हो भन्ने बिषय यकिन हुन बाँकी रहेको छ ।

 

जिरी गुम्वाको भित्री दृश्य । यहि राखिएको गुरु रिन्पोछेको मूर्ति चोरी भएको हो ।