images
images

लिखु–४ जलविधुत आयोजनाको तीन महिनाको आम्दानी ५५ करोड

  • ६ मंसिर २०८०, बुधबार ०९:३०

रामेछाप । रामेछाप र ओखलढुंगाको सीमा लिखु नदीमा निर्माण भएको लिखु–४ जलविद्युत् आयोजनाले विद्युत विक्रीबाट ५५ करोड आम्दानी गरेको छ ।

५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको ग्रीन भेन्चर्स लिमिटेडले विद्युत् बिक्री गरी करिब ५५ करोड आम्दानी गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक साउनदेखि असोजसम्मको अवधिमा आयोजनाबाट उत्पादित बिजुली बिक्री गरी ५४ करोड ७१ लाख ९० हजार ४ सय रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको देखिएको छ । गत वर्ष कम्पनीले बिद्युत् बिक्रीबाट ५२ करोड २१ लाख ६६ हजार ५ सय रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा पनि बढेको देखिएको छ । कम्पनीले यो अवधिमा २३ करोड ४६ लाख ५८ हजार ४ सय रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष पनि कम्पनीको खुद नाफा २० करोड २७ लाख ९४ हजार रुपैयाँ थियो ।

लिखु–४ जलविद्युत् आयोजनाले २०७८ साल कात्तिक २१ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।