images
images

राजनीतिमा प्रवेश गर्दै सुहाङ, बुबाको निधनपछि सोही क्षेत्रमा एमालेबाट बने उम्मेदवार

  • ११ चैत्र २०८०, आईतवार १५:१५

काठमाडौँ । नेकपा एमालेले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सचिवालयको आज बसेको बैठकले प्रतिनिधिसभाको उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७९ सालको मंसिरको निर्वाचनमा विजयी भएका एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौमा हृदयघातबाट निधन भएपछि सो पद रिक्त रहेको छ । सुवासको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङलाई उठाउने निर्णय गरेको हो ।

बुवा सुवासको निधनपछि सुहाङको गतिविधि पनि बढेको छ । उनले इलाम सहित विभिन्न ठाउँमा भएका सामाजिक–सांस्कृतिक, राजनीतिक र खेलकुद क्षेत्रका फोरमहरुमा सम्बोधन गरिरहेका छन् । ती सम्बोधनहरुमा बुवा सुवास, गृह जिल्ला इलाम, युवा पुस्ता र राष्ट्रिय राजनीतिलाई जोड दिने गरेका छन् ।

इलाम–२ मा २०५६ सालयता सधैं सहज जित निकालेका सुवास नेम्वाङले गत वर्ष ११४ मतको झिनो अन्तरले मात्रै प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए । सत्ता गठबन्धनमा रहेका अरु दलको समेत समर्थन पाएका खड्काले २९ हजार ९०६ मत ल्याउँदा सुवासले ३० हजार २० मत पाएका थिए ।