images
images

अपर तामाकोशीले विजुली विक्रीबाट तीन महिनामा कमायो ३ अर्ब ७१ करोड, एक अर्ब ७२ लाख नाफा

जिरी (दोलखा) । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ अर्ब ७१ करोडको विजुली विक्री गरेको छ ।

४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालन गरी विजुली विक्री गरिरहेको कम्पनीले पहिलो त्रैमासिकमा ३ अर्ब ७१ करोड ५८ लाख ४७ हजार ७५८ रुपैंया आम्दानी गरेको हो । यो सँगै पछिल्लो तीन महिनाको अवधिमा मात्रै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले एक अर्ब ७२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यही मंसिर ३ गते आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकमा कम्पनीले बिद्युत बिक्रीबाट ३ अर्ब ५६ करोड १७ लाख ८२ हजार रुपैयाँ आम्दानी गर्दा ७९ करोड ७७ लाख २६ हजार ५ सय ६९ रुपैंया नाफा भएको थियो । जुन अहिलेको भन्दा २६ दशमलव २६ प्रतिशतले कम हो । आयोजनाले २०७८ साल भाद्र २५ गतेदेखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ । अघिल्लो आर्थिक वर्ष ७ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्ष ८ अर्ब १२ करोड रुपैयाँको बिजुली विक्री गरेको थियो । कम्पनीले विजुली विक्री गरी नाफा कमाइरहेपनि शेयर बजार मूल्यमा भने गिरावट आइरहेको छ । माथिल्लो तामाकोशीको शेयर हाल मार्केटमा प्रतिकित्ता १ सय ९३ रुपैंयामा कारोबार भइरहेको छ ।

यसैबीच, कम्पनीको कर्मचारी संचालन खर्च पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा सञ्चालन खर्चमा मात्रै ११ करोड १८ लाख रुपैयाँ खर्च भएकोमा सोही अवधिमा आइपुग्दा अहिले ८ करोड २७ लाख रुपैयाँ मात्रै त्यस्तो खर्च भएको प्रतिवेदनले देखाएको छ । यसरी विद्युत बिक्रीबाट आम्दानी वृद्धि र कर्मचारी संचालन खर्च घट्दा नाफामा वृद्धि हुँदै गएको देखिएको छ । जुन माथिल्लो तामाकोशीको सुधारको पक्ष हो । हाल कम्पनीको चुक्ता पुँजी १५ अर्ब ९९ करोड ९ लाख रुपैयाँ रहेको छ । असोज अन्तिमको कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा थियो भने प्रतिसेयर नेटवर्थ ६० रुपैयाँ ९७ पैसा छ । पछिल्लो पटक कम्पनीले नेपाल विद्युत प्राधिकरण र हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडबाट प्राप्त अल्पकालिन ऋण चुक्ता गरेको जनाएको छ ।

तर, कम्पनीले नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरूको दीर्घकालिन ऋण भुक्तानीको लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरेको छ । सोही अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्ममा नेपाल सरकारको तीन तथा अन्य संस्थाहरूको सात किस्ता सावाँ तथा व्याज भुक्तानी गरिएको कम्पनीले जनाएको छ । विद्युत विक्री गरी नाफा कमाइरहेपनि आयोजना निर्माणकै बेला लागत वृद्धि भएपछि केही वर्ष कम्पनीको नाफामा असर पर्ने अवस्था देखिएको व्यवस्थापकीय विश्लेषण छ ।