images
images

हतियारसहित अदालत परिसरबाट पक्राउ परेका प्रसाईंका बडीगार्डलाई छाड्न सर्वाेच्चको आदेश

  • १३ चैत्र २०८०, मंगलवार १९:४५

काठमाडौं । सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिर्गाडलाई छाड्न आदेश दिएको छ ।

सर्वाेच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले प्रसाईँका बडिगार्डद्धय रामकुमार धिमाल र दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो । लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै प्रसाईंका बडिगार्डका तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दाको आज सुनुवाइ गर्दै सर्वाेच्चले प्रसाईंका दुवै बडिगार्डलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनीहरू दुवैलाई प्रहरीले चैत ५ गते सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको थियो । उनीहरूको साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने १ सय राउण्ड गोली समेत बरामद भएको थियो ।

हतियार बोक्न पाउने लाइसेन्स खड्काको नाममा रहेको थियो । अदालतमा प्रवेश गर्दा हतियार भित्र लैजान नपाइने भएकाले अर्का बडिगार्ड धिमाललाई बोक्न दिइएको थियो । सो बेला प्रहरीले दुवै बडिगार्डलाई पक्राउ गरेको हो । हतियार धिमाललाई बोक्न दिनुलाई अन्यथा भन्न नमिल्ने अदालतको ठहर छ । इजाजत लिएर सर्तसहित हतियार बोकी हिंडेको कार्यलाई प्रचलित कानूनले कसुर गरेको नदेखिएको सर्वाेच्चले जनाएको छ ।