images
images

दोलखामा गत वर्षको तुलनामा धान उत्पादनमा बृद्धि

  • १८ पुष २०८०, बुधबार १२:२९

दोलखा । दोलखामा यो वर्ष धान उत्पादनमा बृद्धि भएको छ ।

जिल्लामा गत वर्षको तुलनामा यो वर्ष शुन्य दशमलब ३३ प्रतिशतले धान उत्पादकत्वमा बृद्धि भएको हो । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार गत बर्ष दालखामा २ दशमलव ६५ प्रतिशत धान उत्पादकत्व भएकोमा यो वर्ष बढेर २ दशमलव ९८ प्रतिशत पुगेको हो । जिल्लामा गत बर्ष २०७९/८० मा २ हजार ८ सय १४ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएकोमा ७ हजार ९१ मेटिक टन धान उत्पादन भएको थियो । यो बर्ष सोही हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा गत बर्षको तुलनामा १ हजार २ सय ९५ मेट्रिक टनले बढेर ८ हजार ३ सय ८६ मेट्रिक टन धान उत्पादन भएको छ । दोलखामा बर्षेनि धान उत्पादन घट्दै गएकोमा यो वर्ष भने उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्र रामेछापको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७७/७८ मा ३ हजार २ हेक्टर क्षेत्रफलमा ७ हजार ८ सय ६५ मेट्रिक टन धान उत्पादन भएकोमा २०७८/७९ मा २ हजार ९ सय १ हेक्टर क्षेत्रफलमा ७ हजार ६ सय ८८ मेक्ट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै २०७९/८० मा ७ हजार ९१ मेटिक टन धान उत्पादन भएको छ । तिन आर्थिक वर्षको तथ्यांकलाई हेर्दा दोलखामा क्रमशः धान उत्पादन गर्ने जमिनको क्षेत्रफल र धान उत्पादनमा कमि आएको देखिएपनि यो बर्ष भने उत्पादन बढेको हो । जिल्लामा अघिल्लो बर्ष धानको वाला लाग्ने समयमा पानी बढी पर्नुका साथै तराई क्षेत्रमा हुने धानको विउ र मध्यपहाडका लागि सिफारिस गरिएको धानको बिउ बेँसी भुभागमा लगाउनाले धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । केन्द्रका अनुसार धानमा मरुवा रोग, कालोपोके र डडुवा रोगजस्ता धेरै प्रकारका रोगहरुका कारण पनि गत वर्ष ४० प्रतिशत धान उत्पादनमा गिरावट आएको थियो ।

यद्यपि यो वर्ष भने मौसमले साथ दिनुका साथै हाईब्रिड र उन्नत जातका धानको बीउ लगाएकाले पनि उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र रामेछापकी कृषि अर्थ बिज्ञ सर्मिला फुयाँलले जानकारी दिनुभयो । उहाँले यो वर्ष सरकारले सिफारिस गरेअनुसार खुमल जातको बीउ लगाएकाले पनि उत्पादन बढेको बताउनुभयो । दोलखाको हावापानी अनुसार शंकर, च्याम्पियन, खुमल जातका धानका बिउ लगाउन उपयुक्त मानिन्छ ।