images
images

दोलखाका १ लाख ६ हजार भेडाबाख्रालाई लगाईयो पिपिआर रोग बिरुद्धको खोप

  • २३ फाल्गुन २०८०, बुधबार १३:३९

दोेलखा । दोलखाका १ लाख बढी भेडाबाख्रालाई पिपिआर रोग बिरुद्धको खोप लगाईएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटका अनसार दोलखाका १ लाख ६ हजार ७ वटा भेडाबाख्रालाई पिपिआर रोग बिरुद्धको खोप लगाईएको हो । दोलखाका ९ स्थानीय तहमध्ये जिरी नगरपालिकामा सबैभन्दा बढी २० हजार भेडाबाख्रालाई पीपिआर रोग बिरुद्धको खोप लगाईएको छ भने भीमेश्वर नगरपालिकामा सबैभन्दा कम ६ हजार ३ सयलाई लगाईएको छ । यस्तै, गौरीशंकर गाउँपालिका र बैतेश्वरमा १३÷१३ हजार भेडाबाख्रालाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटका नायब पशु स्वास्थ्य प्राबिधिक टेक बहादुर सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको शैलुङ गाउँपालिकामा १२ हजार ९ सय ७५, बिगुमा १२ हजार ९, कालिञ्चोकमा १० हजार ६ सय ८९, तामाकोशीमा १० हजार ५५२, मेलुङमा ७ हजार १ सय ५ भेडाबाख्रालाई पिपिआर बिरुद्धको खोप लगाईएको छ ।

पशु कार्यालयले संघीय सरकारबाट निशुल्क उपलब्ध गराईएको सबै खोप जिल्लाका स्थानीय तहमा पठाएको थियो । जिल्लाका १ लाख ३२ हजार भेडाबाख्रालाई पिपिआर बिरुद्धको खोप लगाईने लक्ष्य राखिएकोमा १ लाख ६ हजार ७ वटा भेडाबाख्रालाई खोप लगाईएको हो । अब स्थानीय तहहरुमा २५ हजार ९ सय ९३ डोज खोप बाँकी रहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र चरिकोटका प्रमुख, वरिष्ठ मत्स्य विकास अधिकृत ज्ञानबहादुर जिरेलले स्थानीय तहमा बाँकी रहेकोे खोप आवश्यकताका आधारमा छुट भएका पशुहरुलाई लगाउन सकिने बताउनुभयो ।

खोप लगाउन छुटेमा किसानहरुले सम्बन्धित स्थानीय तहमा जानकारी लिई खोप लगाउन सक्नेछन् । पशु सेवा बिज्ञ केन्द्र चरिकोटले यही फागुन १६ गतेदेखि २२ गतेसम्म भेडाबाख्रामा लाग्ने घातक रोग पिपिआर अर्थात् भेडा बाख्राको हैजो विरुद्ध सप्ताहव्यापी खोप कार्यक्रम सञ्चालन गरेको थियो । खोप अभियान अन्तर्गत जिल्लाका दुई नगरपालिकालाई २० हजार ५ सय र गाउँपालिकालाई १३ हजारका दरले भ्याक्सिन र खोप लगाउनका लागि भ्याक्सिनेटर समेत खटाएको थियो ।

पिपिआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो । यस रोगको खास उपचार नभएको हुँदा सबै भन्दा प्रभावकारी भनेकै सामुहिक खोप लगाएर रोग नियन्त्रण गर्नु रहेको केन्द्रका प्रमुख जिरेलले बताउनुभयो ।