images
images

कालिञ्चोक गाउँपालिकाका किसानलाई दुध विक्रिमा अनुदान, गाई–भैंसी पालनमा ९० लाख सहयोग

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाले भैँसी खरिद र दुध बिक्रीमा अनुदान दिएसँगै किसानहरु पशुपालनतर्फ आकर्षित भएका छन् ।

पालिकाले दुध र गाईभैँसी खरिदमा अनुदान दिएसँगै किसानहरु व्यवसायिक पशुपालनतर्फ आकर्षित भएका हुन् । ग्रामीण क्षेत्रमा गाइभैँसी पालेर दुध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि पालिकाले गत आर्थिक वर्ष २०७९/८० देखि अनुदान दिन सुरु गरेको हो । जसअनुसार पालिकाले दुधमा प्रतिलिटर ३ रुपैयाँ र भैँसी खरिदमा ७ वटा वडाका १० वटा कृषि फार्म र कृषक समुहलाई ५ देखि १० लाखका दरले अनुदान दिएको थियो । कालिञ्चोक गाउँपालिकाले गत वर्ष दुध बिक्रिमा अनुदान दिन र भैँसी खरिदका लागि १ करोड २५ लाख रुपैयाँ बजेट छुट्याएकोमा भैँसी खरिद र गोठ निर्माणमा मात्रै ९० लाख अनुदान वितरण गरिएको छ ।

कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले किसानहरुलाई पशुपालनतर्फ आकर्षित गराएर दुध उत्पादनमा बृद्धि गर्न ल्याएको अनुदानका कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । उहाँका अनुसार संकलन केन्द्रमार्फत् दुध बेच्ने किसानलाई बजार मूल्यमा प्रतिलिटर ३ रुपैयाँका दरले गाउँपालिकाले अनुदान दिएपछि दुध उत्पादन गर्ने किसानको संख्या पनि बढेको छ । गाउँपालिकाका अनुदान कार्यक्रम सुरु गरेसँगै गाईभैँसी पालनमा युवा पुस्ताको आकर्षण समेत बढेको छ । जसअनुसार पालिकामा किसानले दैनिक करिब ३ सय लिटर दुध बिक्रीका लागि संकलन केन्द्रसम्म ल्याउने गरेका छन् । गाउँपालिकामा किसानले नजिकको संकलन केन्द्रमा दुध बेच्न सक्ने व्यवस्था मिलाईएको छ । दुध संकलनका लागि पालिकाको सिंगटी, भदौरे र कटुवाचौरमा संकलन केन्द्र तोकिएको गाउँपालिकाकी पशु प्राबिधिक सहायक संगीता बस्नेतले जानकारी दिनुभयो ।

संकलन केन्द्रमार्फत् दुध बेच्ने किसानलाई बजार मूल्यमा प्रतिलिटर ३ रुपैयाँका दरले गाउँपालिकाले अनुदान दिएपछि दुध उत्पादन गर्ने किसानको संख्या पनि बढेको छ । गाउँपालिकाका अनुदान कार्यक्रम सुरु गरेसँगै गाईभैँसी पालनमा युवा पुस्ताको आकर्षण समेत बढेको छ । जसअनुसार पालिकामा किसानले दैनिक करिब ३ सय लिटर दुध बिक्रीका लागि संकलन केन्द्रसम्म ल्याउने गरेका छन् ।

तीनवटा सेवा केन्द्रमा २ सय ९५ लिटर दुध संकलन हुने गरेको छ । जसअनुसार सुन्द्रावतीको कटुवाचौर संकलन केन्द्रमा दैनिक करिब ७० लिटर दुध संकलन हुने गरेको छ । जसमा गाईको १० लिटर र भैसीको ६० लिटर दुध संकलन हुने गरेको केन्द्रका संकलक शंकर ओलीले जानकारी दिनुभयो । उहाँका अनुुसार भैँसीको दुध प्रति लिटर १०१ रुपैयाँमा र गाईको दुध प्रति लिटर ८० रुपैयाँमा बेच्ने गरिन्छ । यस्तै, सिंगटीमा रहेको संकलन केन्द्रमा दैनिक गाईको २८ लिटर र भैसीको दुध १२ लिटर गरी जम्मा ४० लिटर संकलन हुने गरेको छ ।

लामिडाँडाको भदौरे संकलन केन्द्रमा दैनिक १ सय ८५ लिटर दुध संकलन हुने गरेको दुध संकलक गोपाल शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना किसानले मात्रै १५ देखि २० लिटरसम्म पनि दुध बेच्ने गरेका छन् । सो दुध सिंगटी लगायतका बजार र स्थानीयस्तरमै खपत हुने गरेको छ । कटुवाचौर संकलन केन्द्रमा संकलन भएको दुधले भने खुवा छुर्पी पनि बनाउने गरेको गाउँपालिकाले जनाएको छ ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले पशुपालन र दुध उत्पादनमा बृद्धि गरी किसानको आर्थिक अवस्थामा सुधार ल्याउनकालागि अनुदानको कार्यक्रम ल्याएको र चालु वर्ष पनि जारी रहने बताउनुभयो । उहाँले गाउँपालिकाले दुधका अलावा अन्य कृषि उत्पादनमा पनि अनुदान दिने बताउनुभयो ।