images
images

आजदेखि दोस्रो जिरी महोत्सव सुरु, उद्योग वाणिज्य मन्त्री भण्डारीद्धारा उदघाटन

  • २३ चैत्र २०८०, शुक्रबार १९:२०

जिरी(दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीमा आजदेखि दोस्रो जिरी महोत्सव सुरु भएको छ ।

जिरीको लिंकबजार नजिकै आजदेखि १० दिने दोस्रो जिरी महोत्सव २०८० सुरु भएको हो । महोत्सवको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो । नेपालको स्वीजरल्याड, सगरमाथाको प्रवेशद्धार समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन र उद्योग छन् आधार भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज जिरेल, सुनुवार, शेर्पा लगायतका जातजातिले आफ्नै भेषभूषामा नृत्य प्रदर्शन गरेका थिए । महोत्सवको उद्घाटन अघि हाटडाँडा बजारबाट विभिन्न जातजातिको झाँकी नाच र बाजागाजा, र्याली सहित स्थानीय महोत्सव स्थलमा पुगेका थिए । आज महोत्सवको पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएको छ । अब भोलीदेखि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । महोत्सवमा ८० वटा स्टलहरु राखिएको छ । जसमा स्थानीय उत्पादनदेखि विभिन्न प्रकारका सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । महोत्सव आजदेखि सुरु भएर बैशाख २ गते सकिनेछ ।

उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्वमन्त्री एवम् एमाले नेता पार्वत गुरुङ, संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिका सदस्य जिपछिरिङ लामा, बागमती प्रदेशका पूर्वमन्त्री एवम् माओवादी केन्द्रका केन्द्रिय सदस्य विशाल खड्का, राष्ट्रिय सभाका सांसद घनश्याम रिजाल, बागमती प्रदेशसभाका सांसद भरत केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, जिरी नगरप्रमुख मित्र बहादुर जिरेल लगायत दोलखाका ९ वटै स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुको सहभागीता थियो । उद्योग वाणिज्य संघका सदस्य, प्रदेशका पदाधिकारी, उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष लगायत उद्योगी व्यवसायिको सहभागीता थियो । महोत्सवको करिब ५० हजार मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

यसअघि जिरीमा १२ वर्षअघि २०६८ सालमा पहिलो जिरी महोत्सव भएको थियो । २०६८ साल चैत १७ देखि १९ गतेसम्म तीन दिन चलेको महोत्सव भव्यताको साथ सम्पन्न भएको थियो ।