बेलायतमा नयाँ अध्यागमन नियम आएसँगै वर्क परमिट र विद्यार्थी भिसामा कडाई गरिएको छ ।
नयाँ नियम डिपेन्डेन्टहरुको सवालमा निकै कठोर देखिएको हो । पारिवारिक भिसा अन्र्तगत श्रीमान, श्रीमति वा छोराछोरीलाई डिपेन्डेन्टका रुपमा बेलायत लैजान पनि वार्षिक तलब कम्तीमा ३८ हजार ७ सय पाउन्ड हुनुपर्नेछ । सरकारले तोके बमोजिमको तलब पाउने कामदार निकै कम हुने गरेका छन् । नेपालीहरुको हकमा पनि अपवाद बाहेक प्राय सबैको आय न्युन रहेको छ ।
यस्तै हेल्थ एण्ड केयर वर्करका रुपमा वर्क परमिटमा बेलायत पुगेकाहरुले अब डिपेन्डेन्ट लैजान नपाउने भएका छन् । परिवर्तित वर्क परमिट र विद्यार्थी रुटले बेलायत जाने नेपालीहरुलाई प्रत्यक्ष असर पार्ने देखिएको छ । पछिल्लो समय बेलायत पढ्न जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । विद्यार्थीको संख्या बढेसँगै बेलायतमा महिनौंसम्म काम नपाएर विद्यार्थीहरु समस्यामा परेका छन् ।