images
images

एमालेको जिल्ला अधिवेशन पूर्व दोलखामा नेकपा एसको बढ्दो सक्रियता

  • २२ पुष २०७८, बिहीबार १३:४९

दोलखा । नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा एमालेवाट विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीले दोलखामा आफ्नो गतिविधिलाई तिव्र पारेको छ ।

एमालेले १० औं जिल्ला अधिवेशन गर्न लागिरहेका बेला नेकपा एकिकृत समाजवादीले जिल्लाभर संगठन बिस्तार, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको हो । नेकपा एसले आफ्नो पार्टीवाट बनेका प्रदेशका मुख्यमन्त्रीदेखि संघीय सरकारका मन्त्री समेतलाई जिल्ला ल्याएर गतिविधि संचालन गरिरहेको छ । पछिल्लो केही साता यता नेकपा एसले जारी राखेका गतिविधिले एमालेको जिल्ला अधिवशेनकै मुखमा आफुतिर नेता तथा कार्यकर्ता तान्ने रणनीति बनाएको देखिन्छ ।

नेकपा एस दोलखाले पछिल्लो पटक जिल्लाका मुख्य सहरलाई केन्द्रमा राखेर पार्टी अभियान चलाईरहेको छ । सो पार्टीले जिल्ला सदरमुकाम चरिकोट, पर्यटकीय नगरी जिरी र उत्तरी क्षेत्रको सिंगटी बजारलाई आधार बनाएर आफ्ना गतिविधि अघि बढाईरहेको हो । नेकपा एसले कालिञ्चोक र बिगु गाउँपालिकामा पालिका कमिटि गठन गरिसकेको छ भने जिल्लाका अन्य पालिकामा कमिटि गठनको तयारीलाई तीब्र पारेको छ । नेकपा एस दोलखाका उपसचिब घनश्याम रिजालले वडा कमिटी गठन गर्ने कार्यलाई तीब्र पारेको बताउनुभयो ।

गत चैत्र महिनामा युवा र बिद्यार्थीको संयुक्त जिल्ला कार्यकर्ता भेलाको आयोजना गरेर सांगठानिक गतिविधि सुरु गरेको नेकपा एसको भेलाले युवा र बिद्यार्थीको जिल्ला नेतृत्व समेत चयन गरिसकेको छ । पुस १७ गते नेकपा एसको भातृसंगठन नेपाल दलित मुक्ति संगठन दोलखाको जिल्ला सम्मेलनले ७५ सदस्यीय जिल्ला कमिटी समेत गठन गरेको छ । दलित मुक्ति संगठन दोलखाको छैठौं जिल्ला सम्मेलनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एबम् स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा दोलखा आएका थिए । सो दिन सदरमुकाम चरिकोटमा नेकपा एसले ठूलो सँख्यामा दलित समुदायलाई उतारेर शक्ति प्रदर्शन गरेको थियो । दुई दिने दोलखा भ्रमणमा आएका मन्त्री खतिवडा भीमेस्वर र जिरी नगरपालिकमा पार्टीले आयोजना गरेको बिभिन्न कार्यक्रममा सहभागि भएका थिए ।

गत मंसिर महिनामा नेकपा एकीकृत समाजवादीका नेता एबम् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे दोलखा आएका थिए । मुख्यमन्त्री पाण्डे जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित गाउँघर सानाकिसान कृषि सहकारी संस्थाको साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । मुख्यमन्त्री भएपछि पहिलो पटक दोलखा आएका मुख्यमन्त्री पाण्डे सहभागी कार्यक्रममा ठूलो सँख्यामा जनसमुदायको उपस्थिती थियो । दोलखा रहँदा मुख्यमन्त्री पाण्डेले धेरै नेता तथा कार्यकर्ताहरुलाई भेटेर छलफल गरेका थिए । नेकपा एसले पहिलो जिल्ला कमिटीको बैठकमा पार्टी उपमहासचिब विजय पौडेलको उपस्थित गराएको थियो भने दोस्रो कमिटिको बैठकमा बागमति प्रदेशका ईन्चार्व केदार न्यौपाने अतिथिकोरुपमा सहभागि भएका थिए ।

दोलखा जिल्लामा नेकपा एसले आफ्नो संगठनलाई तिव्ररुपमा बिस्तार गरिरहेको छ । संगठन बिस्तार अभियानमा नेकपा एसका पोलिट्व्यूरो सदस्य एवँ दोलखाका नेता शिवप्रसाद भण्डारी, केन्द्रीय सदस्यहरु गोपाल न्यौपाने र चुनु केसी, जिल्ला अध्यक्ष भिमप्रसाद दाहाल लगायतका पदाधिकारीहरु निकै सक्रियताका साथ खटिईरहेका छन् ।