images
images

जिरी ताल निर्माणकालागि आवश्यक जिम्मेवारी र दायित्व पुरा गर्नेछौंः नगर प्रमुख जिरेल

  • ११ पुष २०८०, बुधबार ०९:५०

संघीयता कार्यान्वयनपछि बनेको स्थानीय सरकारमा पहिलो पटक निर्वाचित जनप्रतिनिधि विदा भएर नयाँ जनप्रतिनिधि आएको पनि डेढ वर्ष पुरा भइसकेको छ । दोश्रो कार्यकालमा निर्वाचित जनप्रतिनिधिहरुले अहिले स्थानीय सरकारको बागडोर सम्हालीरहेका छन् । २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले पहिलो आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट कार्यान्वयन गरेर अहिले दोश्रो आर्थिक वर्षको बजेट कार्यान्वयन गरिरहेका छन् ।

दोलखाको जिरी नगरपालिकाले पनि चालु वर्षका योजना र कार्यक्रमहरु तीव्ररुपमा कार्यान्वयन गरिरहेको छ । जिरी नगरपालिकामा दोश्रो कार्यकालकालागि जनप्रतिनिधि निर्वाचित भएर आएपछि विकास निर्माण, समृद्धि र जनहितका लागि के कस्ता कामहरु भइरहेका छन् ? आज हामीले जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, हाम्रा समाचार सह–सम्पादक सिर्जना गोलेले गरेको कुराकानीको सारशंक्षेप ।

जिरी नगरपालिकामा हामी निर्वाचित भएर आएपछि जिरीको विकास र जिरीवासीको हीतलाई ध्यानमा राखेर काम गरिरहेका छौं । जिरीको समृद्धि र जनताको समुन्नती नैं हाम्रो मुल उद्धेस्य हो । यसअघि निर्वाचित जनप्रतिनिधिले सुरु गरेका अधुरा कामहरु पुरा गर्ने र विकासको दिर्घकालिन योजनासहित हामी अघि बढिरहेका छौं । विकास निर्माण निरन्तर हुने प्रक्रिया हो । जति विकास गरे पनि पुग्यो भन्ने हुन्न । त्यसैले हामीले गरेका कामहरुवाट पूर्ण सन्तुष्टि भएका छौं भन्ने होइन । सकेको राम्रो गर्ने प्रयास गरेका छौं ।

अघिल्लो कार्यकालमा निर्माण भएका सडकलाई स्तरउन्नती गरेर सदावहार यातायात सँचालन गर्ने अवस्था बनाउँदै छौं । श्रोत साधन सिमित छन् । जनताका अपेक्षा असिमित छन् । सकेसम्म पुरा गर्ने प्रयास गरिरहेका छौं । नगरकै योजना नभएपनि भूकम्पमा तहसनहस भएको जिरी माविको भवन चीन सरकारको १ अर्व ४० करोड लागतमा निर्माण हुँदैछ । हाडडाँडावाट–चिपचिपे सडक, बाघखोर–क्याङ्सेपोखरी सडकको काम तीव्ररुपमा भइरहेको छ । लिङकनबजारदेखि गाई आनुवांशिक श्रोत केन्द्रसम्मको सडक कालोपत्रे गरिने छ ।

असारे विकासलाई अन्त्य गर्ने प्रयास

चालु वर्षवाट घुम्ती शिविर मार्फत योजना सम्झौता र एकिकृत सेवा दिन सुरु गरिएको छ । असारे विकासको परिपाटीलाई अन्त्य गर्न भदौ मसान्तभित्र योजना सम्झौता गर्ने गरी नगर सभावाट तय गरिए पनि विभिन्न कारणले त्यो सम्भव हुन सकेन । चालु वर्ष जिरीमा संचालन हुने डेढ सय बढी योजना मध्ये १०५ योजना सम्झौता भइसकेका छन् । बाँकी निकट भबिष्यमै कार्यान्वयन गरिने छ । पुसको अन्तिम साता नगर सभा बस्दैछ । नगरसभामा केही वडाका योजना र कार्यक्रम परिवर्तन गरी रकमान्तर गर्नु पर्ने अवस्था छ ।

जिरी अस्पतालका कारण आर्थिक दायित्व बढ्यो

जिरी अस्पताल स्थानीय सरकार मातहत रहेको अस्पताल हो । यसको संचालन र व्यवस्थापनको दायित्व जिरी नगरपालिकाको छ । यो अस्पतालक भौतिक पूर्वाधारको दृष्टिले अन्य अस्पतालको तुलनामा धेरै ठूलो छ । हाम्रो श्रोत, सामथ्र्यले भ्याएसम्म भएको जनशक्ति र श्रोतसाधनलाई परिचालन गर्दै सेवा दिने प्रयास गरिरहेका छौं । स्विस सरकारको सहयोगमा यो अस्पताल संचालन हुँदा श्रोत सुनिश्चित थियो र भनेजस्तो सेवा उपलव्ध हुन्थ्यो । अहिलेको अवस्था त्यस्तो होइन ।

अहिले हामीसँग १० औं तहको मेसुसहित एमडिजिपि र अन्य गरी चार जना डाक्टर छन् । सोही सँख्यामा अन्य स्वास्थ्यकर्मी छन् । अस्तापल संचालनको खर्च र तलवमा निकै ठूलो रकम खर्च हुन्छ । संघीय सरकार र प्रदेश सरकारको सहयोग छैन । यो कारण आर्थिक दायित्व र बोझ थपिएको छ । संचालन र व्यवस्थापनकालागि अन्य विकल्प खोज्नु पर्ने अवस्था छ । जिरी अस्पतालवाट उचित सेवा नपाएको भन्ने कुरा गलत हो । डाक्टरसहितका स्वास्थ्यकर्मीले आफ्नो क्षमता र श्रोतसाधनले भ्याएसम्म सेवा दिइरहेका छन् ।

अस्पतालको पारदर्शीताका कुरा गर्दा अस्पताल व्यवस्थापन सम्वन्धी लेखापरिक्षण नियमित भइरहेको छ । अघिल्लो आर्थिक बर्ष र चालु वर्षको लेखापरिक्षणको प्रक्रिया अघि बढिसकेको छ । फार्मेसीको लेखापरिक्षण भने २०७३/०७४ देखि भएको छैन । त्यो मेसुको नेतृत्वमा हुने कुरा हो, हामीसँग सम्वन्धित हुँदैन । त्याहाँ भएका बेठिक कुरालाई ठिक गर्ने र बिधिसम्वत ढँगले सँचालन गर्न हामी लागिपरेका छौं ।

जिरी ताल सपनाको योजना

जिरी ताल जिरीको सपनाको योजना हो । सम्पूर्ण जिरीवासीले यसलाई महत्वपूर्ण आयोजनाकोरुपमा लिएका छन् । स्थानीय सरकारले यसमा चासो नदिएको होइन । यो आयोजना बागमती प्रदेशको गौरवको आयोजना हो । भूमिमात्र जिरी नगरपालिकामा पर्दछ । यसको खर्चको अख्तियारी नगरपालिकामा आएको छैन । जलश्रोत तथा सिंचाइ विकास डिभिजनमा खर्चको अख्तियारी आएको छ । गत वर्षको १५ करोड बजेट कार्यान्वयनका बिषयमा नगरपालिकाले पटक–पटक चासो राखेको छ । बागमती प्रदेश सरकारवाट आवश्यक कागजात पुरा गरेर संघीय मन्त्रीपरिषदमा पठाउने र त्याहाँवाट निर्णय भएपछि मात्रै कार्यान्वयन गर्न सकिने जवाफ आयो ।

यो बिषयलाई लिएर हामी प्रधानमन्त्री कार्यालयमा पनि गयौं । त्याहाँ पर्यटन मन्त्रालय मातहत आउनु पर्ने योजना जलश्रोत मार्फत कसरी आयो ? भन्ने कुरा भयो । ताल निर्माणकालागि जग्गा प्राप्ति गर्न सिडिओ नेतृत्वको समितिले निर्धारण गर्ने र मुआव्जा वितरणकालागि सरकारले श्रोत सुनिश्चित नगरेसम्म मन्त्रीपरिषदवाट निर्णय हुन नसक्ने जवाफ आयो । ताल निर्माणको क्रममा करिव ५ सय २५ रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने डिपिआरमा उल्लेख छ । तर, अधिग्रहण गर्ने जग्गाको क्षेत्र बढी भयो भन्ने कुरा पनि आएको छ । प्रदेशवाट जानु पर्ने कागजातहरु उर्जा मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पुगेपनि माथि उल्लेखित कारणले अड्किएको छ ।

जिरी ताल निर्माणमा सहयोग तथा समन्वय गर्नकालागि सर्वदलीय सर्वपक्षीय समिति पनि गठन गरियो । तर, त्यसको बैधता भएन, त्यसको कुनै काम भएन । बैठक पनि बस्न सकेन, सरोकारवालाको भेला बोलाएर दवाव सिर्जना पनि गर्न सकेन । जिरी ताल निर्माणकालागि जिरी नगरपालिकाले जग्गाको विवाद वा अन्य विवादलाई सहजिकरण गर्नेदेखि गर्नु पर्ने सवै जिम्मेवारी पुरा गर्न तयार छौं । ताल निर्माणमा नगरपालिकाले सक्रियता देखाएन भन्ने आरोप गलत हो ।

छङदु नगरसँगको सम्वन्ध बलियो बन्दै

जिरी नगरपालिकामा टंकवहादुर जिरेल नगर प्रमुख हुँदै नेकपा एमालेका नेता एवँ पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलको सक्रियतामा चीनको सिचुवान प्रान्तको छङ्दु नगरपालिकासँग भगिनी सम्वन्ध जोड्ने अवसर जुराइ दिनुभयो । भगिनी सम्वन्ध स्थापित भएपछि हामी दुई पटक छङ्दु नगर पुगेर त्याहाँको विकासको मोडलका बारेमा अध्ययन गर्ने अवसर पाएका थियौं ।

अहिले हाम्रो निमन्त्रणामा चीनका नगर प्रमुखसहितको टोली जिरीको सद्भावना भ्रमण पुरा गरेर फर्किएको छ । यो भ्रमण अत्यन्तै रचनात्मक र फलदायी हुने अपेक्षा गरिएको छ । भ्रमणको क्रममा जिरी नगरपालिकाको बस्तुस्थितीका बारेमा कुटनीतिक ढंगले कुरा राखेका छौं । यहाँको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार विकास लगायतका बारेमा उहाँहरुलाई जानकारी गराएका छौं ।

छङ्दुको प्राविधिक शिक्षालयसंगको साझेदारी, अध्ययनको अवसर, विज्ञान प्रविधिको क्षेत्र तथा जिरीका विद्यालयमा चीनियाँ भाषा सिकाउने लगायतका बिषयमा कुराहरु राखेका छौं । यी र यस्ता बिषयमा छलफल भएपनि ठोसरुपमा कुनै सम्झौता भएको छैन । हामी आशावादी छौं, छङ्दुसँगको हाम्रो सम्वन्ध नयाँ ढंगले अघि बढ्ने बिस्वास लिएका छौं ।