images
images

सुदूरपश्चिम र गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता

  • २३ फाल्गुन २०८०, बुधबार ११:५८

नेकपा माओवादी केन्द्रले दुई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादी केन्द्र गण्डकी संसदीय दलको आज बसेको बैठकले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । संसदीय दलको कार्यालयमा आज बिहान बसको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । गण्डकीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले हिजो नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई पदबाट बर्खास्त गर्नुभएको थियो ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि माओवादीको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिनुभयो । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहले माओवादीबाट सामाजिक विकासमन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्यमन्त्री गीता माललाई पदबाट बर्खास्त गर्नुभएको थियो । आफ्नो मन्त्रीहरुलाई सरकारले बर्खास्त गरेसँगै माओवादीले आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको हो ।