images
images

नवनियुक्त १६ मन्त्रीद्धारा सपथ ग्रहण, २० सदस्यीय बन्यो मन्त्रिपरिषद

  • २३ फाल्गुन २०८०, बुधबार २०:०५

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले सपथ लिएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट १६ नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवन शीतलनिवासमा आज साँझ एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानमन्त्रीसहित १० मन्त्रीले शपथ लिएका हुन् । यो सँगै मन्त्रिपरिषद् २० सदस्यीय भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुनर्गठित मन्त्रिमण्डलमा एमालेका उपमहासचिव रघुवीर महासेठ, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री नियुक्त भएका छन् । महासेठले भौतिक पूर्वाधार, श्रेष्ठले परराष्ट्र र लामिछानेले गृह मन्त्रालयको विभागीय जिम्मेवारी पाएका छन् । एमालेबाट हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योगमन्त्रीको जिम्मेवारीमा पुगेका छन् । ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास र बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाएका छन् ।

माओवादीबाट वर्षमान पुनले अर्थ मन्त्रीको जिम्मेवारी पाएका छन् भने शक्ति बस्नेत ऊर्जा र रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीमा दोहोरिएका छन् । रास्वपाका विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । यस्तै, एकीकृत समाजवादीबाट भानुभक्त जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढाले सहरी विकास मन्त्रालयको नेतृत्व पाएका छन् ।

सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीको शपथ लिएका थिए । गिरीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व पाएका छन् भने हितबहादुर तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पाएका छन् । डीपी अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पाएका छन् ।

वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन् । तर, जसपाबाट हालसम्म मन्त्री टुङ्गिएका छैनन् ।