images
images

इजरायलमा हमासको रकेट आक्रमणः ७ जना नेपाली विद्यार्थी घाईते, १७ जना आक्रमणकारीको घेरामा

  • २० आश्विन २०८०, शनिबार १८:५३

दक्षिणी इजरायलमा प्यालेस्टिनी विद्रोही समुह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाईते भएका छन् ।

दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा परी घाईते भएका हुन् । उनीहरु लर्न एन्ड अर्न कार्यक्रम अन्र्तगत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए । हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाईते भएको पुष्टि गर्नुभयो । अझै १७ जना विद्यार्थीहरु आक्रमणकारीको घेरामा रहेको उहाँले बताउनुभयो ।

विद्रोहीहरुले उनीहरु रहेको क्षेत्रलाई कब्जामा लिएका कारण उद्धारमा कठिन भएको छ । आज विहानैदेखि प्यालेस्टिनी विद्रोही हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो । हमासको आक्रमणमा इजरायतर्फ केही हताहती भएको खबर सार्वजनिक भएको छ । टाइम्स अफ एजरायलले हमासको आक्रमणमा २२ जनाको मृत्यु भएको र सयौं घाईते भएको जनाएको छ ।
घाईतेमध्ये ७० जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

हमासका हतियारधारी व्यक्ति दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायलको भनाई छ । हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आफुहरु युद्धमा रहेको र इजरायली सेना र होम कमाण्डको निर्देशनलाई नागरिकले अनिवार्य पालना गर्नुपर्ने बताउनुभएको छ ।