images
images

दक्षिण इजरायलमा कार्यरत १२ जना नेपाली विद्यार्थी सम्पर्क विहिन, तीन जनालाई अस्पताल लगियो

  • २१ आश्विन २०८०, आईतवार १२:५९

दक्षिण इजरायलमा कार्यरत १२ जना नेपाली विद्यार्थी सम्पर्क विहिन भएका छन् ।

इजरायलको द्धन्द्धग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा रहेका १२ जना नेपाली विद्यार्थीसँग सम्पर्क टुटेको तेलअविवस्थित नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार किवुज अलुमिनमा फँसेका १७ जना नेपाली विद्यार्थीमध्ये दुई जनासँग मात्रै नियमित सम्पर्क भइरहेको छ । शनिवार विहानदेखि आक्रमण सुरु भएपछि भागदौड हुँदा नेपाली विद्यार्थीहरु दुई समुहमा बाँडिएका थिए । एउटा बंकरमा रहेका दुई जनासँग नियमित सम्पर्क भइरहे पनि १२ जनासँग सम्पर्क टुटेको दुतावासले जनाएको छ । सम्पर्क टुटेका १२ जनाको अवस्थाबारे खोजी भइरहेको इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले जानकारी दिनुभयो । किवुज क्षेत्रमा अझै इजरायली सेना पुगिसकेको छैन । गाजा क्षेत्रबाट नजिक रहेको यो स्थान हमास लडाकुको नियन्त्रणमा रहेको बताइएको छ । हमासको आक्रमण परी घाइते भएका ९ जना नेपाली विद्यार्थीमध्ये तीन जनालाई अस्पताल लगिएको छ भने दुई जना बंकरमै रहेका छन् ।

बंकरमा रहेको एक जनालाई गोली लागेको छ । यद्यपी उनलाई अहिलेसम्म अस्पताल लैजान नसकिएको दुतावासले जनाएको छ । गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाईका लागि ११ महिनाको अर्न एन्ड लर्न प्रोग्रामका लागि सेदोत नेगेभ क्षेत्रमा ४९ जना विद्यार्थीहरु पुगेका थिए । उनीहरु सुदुरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टारका विद्यार्थी हुन् । ३२ जना कृषि विद्यार्थीहरु भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित रहेका छन् ।