images
images

नेपाली नयाँ वर्ष मनाउन दोलखामा आन्तरिक पर्यटकको उत्साहजनक आगमन

  • १ बैशाख २०८१, शनिबार १३:५९

दोलखा । धार्मिक एवम् पर्यटकीय स्थल दोलखामा नेपाली नयाँ वर्ष २०८१ सालको पूर्बसन्ध्यामा आन्तरिक पर्यटकहरु उल्लेख्य रुपमा भित्रिएका छन् ।

नयाँ वर्ष मनाउन दोलखाको कालिञ्चोक, शैलुङ, जिरी, भीमेश्वर मन्दिर, सदरमुकाम चरिकोट लगायतका स्थानमा आन्तरिक पर्यटकको उत्साहजनक आगमन भएको हो । पछिल्लो समय दोलखाका यी प्रमुख स्थानहरु पर्यटकको रोजाईँमा पर्ने गरेका छन् । पर्यटकले अधिकांश होटलहरु पहिले नै बुकिङ गरेर नयाँ बर्ष मनाउन आएको होटल व्यवसायीहरुले बताएका छन् । पर्यटकको चहलपहलसँगै पर्यटन व्यवसायीमा थप उत्साह थपिएको छ । नयाँ वर्ष सुरु हुनै लाग्दा दोलखामा आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । पछिल्लो समय दोलखा आन्तरिक पर्यटकका लागि प्रमुख गन्तव्य बन्दै गएको हो । जसका कारण नयाँ वर्षमा भ्रमणका लागि आउने पर्यटकले अग्रिम होटल बुकिङ गर्नुपर्ने अवस्था छ ।

दोलखाको ऐतिहासिक धार्मिक एबम् प्राकृतिक स्थल कालिञ्चोक क्षेत्रमा पनि हजारौँ पर्यटक नयाँ वर्ष मनाउन पुगेका छन् । नयाँ वर्षको पूर्बसन्ध्यामा कालिञ्चोक क्षेत्रमा ठुलो संख्यामा पर्यटकहरु पुगेका हुन् । अग्रिम टिकट बुकिङ गरी धैरै पर्यटकहरु कालिञ्चोक पुगेका छन् । कालिञ्चोकको कुरीमा रहेका सबै होटल अहिले भरिभराउ रहेको व्यवसायीहरुले बताएका छन् ।

कालिञ्चोकको चुलिमा पुगे पछि गौरीशंकर, सगरमाथा तथा अनगिन्ति हिमाल हेर्न पाईनुका साथै हिउँ खेल्न पनि कालिन्चोकमा झुम्मिने स्वदेशी तथा विदेशी पर्यटकहरुको सँख्या बर्षेनी बढ्दो छ । कालिन्चोक भगवती मन्दिरको थुम्को मात्र नभई कुरी भञ्ज्याङ, टुटुवान, घ्याङडाँडा, बुकेनी र गणेश थुम्को पनि पर्यटकको रोजाईका स्थानहरु हुन् । त्यहाँ माथि वीचमा भेटिने चौंरी गोठले पनि त्यत्तिकै मात्रामा पर्यटकहरुलाई तानिरहेको छ । पछिल्ला बर्ष यो क्षेत्रमा धार्मिक र प्रकृतिप्रेमी पर्यटकको चाप बढ्दै गएको छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको शैलुङ क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रको रुपमा विकास हुँदै गएको छ । शैलुङमा रहेका होटलमा नयाँ वर्षको पूर्ब सन्ध्यामा पर्यटकहरु खचाखच भरिएका छन् । शैलुङ फुलबारीका होटल व्यवसायी गोविन्द श्रेष्ठले नयाँ वर्षको पूर्बसन्ध्यामा कालापानीका रहेका सबै होटलहरु खचाखच भरिएको बताउनुभयो । उहाँका अनुसार सबै होेटल अग्रिम बुकिङ गरेर शैलुङ क्षेत्रको भ्रमण गर्न आएको उहाँको भनाई छ । दोलखा र रामेछापको सीमानामा पर्ने शैलुङमा प्राकृतिक रुपमा उत्पत्ति भएका साना ठुला एक सय ओटा थुम्काको दृश्यावलोकन गर्न सकिन्छ । सुन्दर हिमालको दृश्यावलोकनका साथै हिउँदमा हिउँ खेल्न तथा नयाँ वर्ष मनाउन ठुलो संख्यामा पर्यटकको भीड लाग्ने गर्दछ ।

शैलुङमा रहेको सय थुम्का, ग्रेट वालका अलावा शैलुङ्गेश्वर महादेव, बौद्ध छ्योर्तेन लगायतका थुपै्र धार्मिक तथा पर्यटकीय स्थलले यस क्षेत्रको महत्व अझ बढाएको पाईन्छ । नयाँ वर्षमा दोलखाको पर्यटकीय नगरी जिरीमा पनि उत्साहजनक रुपमा आन्तरिक पर्यटक भित्रिएका छन् । नयाँ वर्षलाई लक्षित गरी जिरीमा जिरी महोत्सवको आयोजना गरिएको छ । जिरीको पर्यटन व्यवसायलाई थप चलायमान बनाउन नयाँ वर्षलाई लक्षित गरी जिरी महोत्सवको आयोजना गरिएको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो ।