images
images

माघ महिनामा मात्रै २५ हजार पर्यटक कालिञ्चोक पुगे

  • १५ फाल्गुन २०८०, मंगलवार १३:५४

दोलखा । दोलखाको प्रसिद्ध धार्मिक एवँ पर्यटकीयस्थल कालिञ्चोकमा पर्यटकको संख्यामा उत्साहजनक बृद्धि भएको छ ।

कालिञ्चोकमा स्वदेशी साथै विदेशी पर्यटकको संख्यामा समेत उत्साहप्रद उपस्थिती देखिएको हो । कालिञ्चोक क्षेत्रमा यो मौसममा चारपटक हिमपात भैसकेको छ । हिमपात भएपछि हिउँसँग खेल्न र प्रकृतिसँग रमाउनका लागि धेरैको सँख्यामा पर्यटकहरु जिल्ला भित्रिएका छन् । यो वर्षको माघ महिनामा मात्रै २५ हजार मानिसले केवलकार मार्फत् कालिञ्चोक मन्दिरको दर्शन गरेका छन् । कालिञ्चोक दर्शन लिमिटेडका मेनेजर तिलक दुलालका अनुसार गत वर्षको तुलनामा चालु वर्ष पर्यटकको संख्यामा उत्साहप्रद देखिएको हो । कालिञ्चोक पुग्ने भारतीय पर्यटकको समेत पछिल्लो समय बृद्धि हुँदै गएको छ ।

गत वर्षको माघ महिनामा करिब १८ हजार पर्यटकले केवलकारमार्फत् मन्दिरको दर्शन गरेका थिए भने चालु वर्ष माघ महिनामा २५ हजार बढीले भ्रमण गरेका हुन् । गत बर्षको तुलनामा यो वर्ष एक महिनाको अवधिमा ७ हजार बढीले केवलकार चढेर कालिञ्चोक क्षेत्रको भ्रमण गरेका हुन् । फागुन महिना लागेपछि साँढे ७ हजारले मन्दिरको दर्शन गरेका छन् । हाल दैनिक करिब ६ सय बढी पर्यटकले केवलकार चढ्ने गरेको कालिञ्चोक दर्शन लिमिटेडका मेनेजर दुलालले बताउनुभयो । यो तथ्यांक केवलकार चढेर पुग्ने पर्यटकको मात्रै भएकाले हिउँ खेल्न र हिँडेरै मन्दिर पुग्ने पर्यटकहरु पनि धेरै रहेको व्यवसायीहरुको भनाई छ ।
कालिञ्चोक क्षेत्रमा अन्य समयमा भन्दा शुक्रवार र शनिवार धेरै पर्यटकहरु हिउँ खेल्न जाने र केबुलकार चढेर दर्शन गर्ने गरेका छन् ।

कालिञ्चोक भ्रमणमा आउने पर्यटकहरु बढेसँगै व्यवसायीहरु उत्साहित बनेका छन् । मौसमले पनि यो वर्ष निकै साथ दिएको भन्दै होटल व्यवसायीहरु उत्साहित बनेका हुन् । लगातार हिमपात भैरहेकाले गत वर्षको तुलनामा पर्यटकहरुको संख्यामा बृद्धि भएको कालिञ्चोक कुरीका होटल व्यवसायी जयवीर पाख्रिनले जानकारी दिनुभयो । जिल्लामा अन्य पर्यटकीय स्थलको तुलनामा कालिञ्चोकमा सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् ।