images
images

भिजिट भिसामा विदेश जान कडाई, आजदेखि नयाँ नियम लागु (हेर्नुहोस, के–के कागजात चाहिन्छ)?

  • १० माघ २०८०, बुधबार १०:५४

काठमाडौं । भिजिट भिसामा विदेश जानेहरुको लागि आजदेखि नयाँ नियम लागु भएको छ ।

भिजिट भिसामा विदेश गएर तोकिएको अवधिभित्र स्वदेश नफर्किने प्रवृत्ति बढेपछि अध्यागमन विभागले नयाँ मापदण्ड लागू गरेको हो । विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि थप कडाइ गरेको जनाएको छ । भिजिट भिसामा गएकाहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने क्रम बढेपछि अध्यागमनले यसलाई थप कडाइ गरेको हो । विभागले वेभसाइटमार्फत ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे समेत जानकारी दिएको छ ।

भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरुको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने सहितको नयाँ व्यवस्था लागु भएको छ । सम्बन्धीत देशको भिसा वा अनअराइभल भिसा प्राप्त हुने देश भए प्रवेशज्ञा आवश्यक पर्ने र भ्रमणमा जानेहरुले दुईतर्फै हवाई टिकट बुझाउनुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार खाडी देशभन्दा बाहिर कम्तीमा एक पटक र खाडी देशमा दुई पटक विदेश यात्राको अभिलेख भएका, न्यूनतम २ वर्षभन्दा बढी समय विदेशी देशमा बसेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरूले भिजिट भिसामार्फत यात्रा गर्न पाउनेछन् भने न्यूनतम माध्यमिक तहको औपचारिक शिक्षा वा त्यो सरहको प्राविधिक र व्यावसायिक सीप दक्षता भइ आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता विज्ञ, प्राविधिक, व्यक्तिहरू, अंग्रेजी वा गन्तव्य देशमा बोलिने अन्तर्राष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्ति पनि जान पाउनेछन् ।

आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति (एकाघरका आमाबाबु, सासूससुरा, छोराछोरी, श्रीमान–श्रीमती र वैदेशिक रोजगारमा रहेकाहरूको नातेदारसमेत), गन्तव्य देशमा रहेको राजदूतावास र नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्तिहरू, सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरूलगायत पनि भिजिट भिसामा जान पाउने छन् ।

वार्षिक न्यूनतम ५ लाख रुपैयाँ करयोग्य आय भइ कम्तीमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्तिहरू, नेपाली दूतावासको सिफारिसबमोजिम बिरामी कुरुवा वा रेखदेखको काम गर्न जाने तीन पुस्ताभित्रका पारिवारिक सदस्यहरू पनि भिजिट भिसा जान पाउनेछन् ।