images
images

हिमपातपछि कालिञ्चोकमा बढे पर्यटक, ६ हजार बढीले गरे दर्शन

दोलखा । दोलखाको उच्च हिमाली क्षेत्रमा हिमपात भएसँगै प्रसिद्ध धार्मिक एवँ पर्यटकीयस्थल कालिञ्चोक र शैलुङमा पर्यटकहरु बढेका छन् ।

कालिञ्चोक र शैलुङ क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको हो । हिमपात भएसँगै दोलखा भ्रमणमा आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको हो । यसअघि फाट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला भित्रिने गरेकोमा जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि हिउँसँग खेल्न र प्रकृतिसँग रमाउनका लागि धेरैको सँख्यामा पर्यटकहरु जिल्ला भित्रिएका छन् । कालिञ्चोक क्षेत्रमा यो सिजनमा दुईपटक हिमपात भैसकेको छ । हिमपातपछि शुक्रबार र शनिबारको दिनमा उल्लेख्य मात्रामा पर्यटक आउन थालेकोे स्थानीय होटल व्यवसायीहरुले बताएका छन् । हिमपातपछि शुक्रवार र शनिवार मात्रै दैनिक करिब ५ हजार बढी पर्यटकले कालिञ्चोकको भ्रमण गरेको व्यवसायीहरुको भनाई छ ।

कालिञ्चोकका होटल व्यवसायी चन्द्र तामाङले पनि हिमपात सुरु भएसँगै पर्यटकको आवागमनमा बृद्धि भएको भन्दै खुसी व्यक्त गर्नुभयो । यद्यपि अन्य समयमा पनि पर्यटकहरु बढेको व्यवसायी तमाङले बताउनुभयो । हिउँ परेसँगै कुरीमा रहेका प्रत्येक होटलमा दैनिक कम्तीमा पनि २० देखि ७० जनासम्म पर्यटकहरु बास बस्ने गरेका छन् । पछिल्लो समय कालिञ्चोक मन्दिरको भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा पनि बृद्धि हुँदै गएको छ । कालिञ्चोक मन्दिरमा भारतीय र बंगलादेशका पर्यटकहरु समेत दर्शन गर्न आउनाले थप उत्साह थपिएको होटल व्यवसायीहरुले बताएका छन् ।

कालिञ्चोक क्षेत्रमा विदाको बेला अन्य समयमा भन्दा धेरै पर्यटकहरु हिउँ खेल्न जाने र केबुलकार चढेर दर्शन गर्न जाने गरेका छन् । कालिञ्चोक दर्शन लिमिटेडका मेनेजर तिलक दुलालका अनुसार पछिल्लो दिनहरुमा दैनिक ७ सय देखि २ हजार सम्मले केवलकार चढेर कालिञ्चोकको भ्रमण गरेका छन् । यसअघि दैनिक करिब २ सयले केवलकार चढ्ने गरेकोमा हाल पर्यटकहरु बढ्दै गएका हुन् ।

कालिञ्चोकमा हिमपात भएपछि एक साताको अवधिमा करिब साँढे ६ हजारले केवलवारमार्फत् मन्दिरको दर्शन गरेका छन् । कालिञ्चोकमा माघको दोस्रो साता हिमपात भएपछि एक साताको अवधिमा ६ हजार ४ सय ४५ जनाले केवलकार चढेका हुन् । माघ १२ गते शुक्रवार १ हजार ५४ जनाले केवलकारमार्फत् भ्रमण गरेकोमा १३ गते शनिवार २३ सय १ जनाले केवलकार चढेका थिए । यस्तै, माघ १४ गते ११ सय ३९ जनाले केवलकारबाट भ्रमण गरेको कालिञ्चोक दर्शन लिमिटेडले जनाएको छ । एक साताको अवधिमा ४९ जना भारतीय र २० जना अन्य मुलुकका पर्यटकले केवलकारबाट मन्दिरको दर्शन गरेका छन् ।

यस्तै जिल्लाको शैलुङमा पनि हिमपात भएपछि पर्यटकको संख्यामा बृद्धि भएको छ । हिमपातका कारण हाल पर्यटकको संख्यामा वृद्धि भएका कारण केही आशा थपिएको शैलुङको कालापानीमा स्थित शैलुङ फुलबारी होटलका सञ्चालक गोविन्द श्रेष्ठले बताउनुभयो । शैलुङका होटलहरु पनि शुक्रवार र शनिवार भरिभराउ हुने गरेका छन् ।