images
images

लामावगरको हुरहुरे घटनाः पहिरो खसेको नभई बिष्फोटक पदार्थ बिष्फोट गराउँदा दुर्घटना !

  • २ माघ २०८०, मंगलवार १८:०२

दोलखा । एक जनाको मृत्यु र दुई जना गम्भीर घाइते हुने गरी लप्चि जलबिधुत आयोजनामा भएको घटना सुख्खा पहिरोले पुरेर नभई बिष्फोटक पदार्थ बिष्फोट गराउने क्रममा भएको स्थानीयले बताएका छन् ।

लप्चि जलबिधुत आयोजनाको प्रवेश मार्ग निर्माणको क्रममा लामावगरको हुरहुरेमा हिजो दिउँसो सुख्खा पहिरो खसेको र सोही पहिरोमा पुरिएर एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको प्रर्वद्धक कम्पनी नासा हाइड्रोले जनाएको थियो । सोही आधारमा दोलखा प्रहरीले पनि पहिरोमा पुरीएर कामदारको मृत्यु र घाइते भएको बताएको थियो । तर, लप्चि जलबिधुत आयोजनाको सडक निर्माणमा काम गर्ने अन्य मजदुरहरुले भीर फुटाउन प्रयोग गरिने बिष्फोटक पदार्थ बिष्फोट गराउने क्रममा घटना घटेको बताएका छन् ।

घटनास्थलवाट जङ्गलको कठिन बाटो हुँदै लामावगर आईपुगेका मजदुरहरुले बिष्फोट गराउने क्रममा ढुँगाले लागेर एक जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको बताएका हुन् । उनीहरुले घटनास्थल नजिक सुख्खा पहिरो नखसेको दावी पनि गरेका छन् । लामावगरवाट लप्चि जाने सडकको देउराली भन्ने स्थानमा मात्रै सुख्खा पहिरो खसेको उनीहरुको दावी छ । सडकमा काम गर्ने मजदुरहरुलाई पर्याप्त सुरक्षा सामाग्री नदिएको र जोखिमपूर्ण काम गर्नु पर्दा घटना घटेको उनीहरुको भनाई छ ।

घटनास्थलवाट जङ्गलको कठिन बाटो हुँदै लामावगर आईपुगेका मजदुरहरुले बिष्फोट गराउने क्रममा ढुँगाले लागेर एक जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको बताएका हुन् । उनीहरुले घटनास्थल नजिक सुख्खा पहिरो नखसेको दावी पनि गरेका छन् । सडकमा काम गर्ने मजदुरहरुलाई पर्याप्त सुरक्षा सामाग्री नदिएको र जोखिमपूर्ण काम गर्नु पर्दा घटना घटेको उनीहरुको भनाई छ ।

श्रोतका अनुसार बिष्फोटक पदार्थ बिष्फोट गराउने क्रममा ज्यानै जाने घटना घटेपछि लप्चि जलबिधुत आयोजनाको फिल्डमा खटिएका कर्मचारीहरुले पहिरो खसेर घटना घटेको भनी माथिल्लो निकायमा गलत रिर्पोट गरेका थिए । टेलिफोनको नेटवर्क समेत नलाग्ने र अति दुर्गम स्थान भएका कारण आयोजनाका कर्मचारीले दिएको रिर्पोटलाई नैं स्थानीय प्रहरी र प्रशासनले पनि आधिकारिक मानेका थिए । देउरालीमा खसेको सुख्खा पहिरोले सुरक्षाकर्मी घटनास्थल पुग्न नसकेका कारण अहिलेसम्म पनि प्रहरीले घटना मुचुल्का बनाउन सकेको छैन । लामावगरदेखि लप्चिसम्मको भुगोलमा लप्चि हाइड्रोको आन्तरिक सञ्चार संयन्त्र मार्फत मात्रै सूचना आदानप्रदान गर्न सकिन्छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले घटनास्थलमा सुरक्षाकर्मी पुग्न नसकेका कारण बिस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो । उहाँले घाइतेको उद्धार र मृतकको शव ल्याउने काम सकिएको भन्दै घटनास्थल र घटना घट्नुको कारण वारे अध्ययन हुन बाँकी रहेको प्रतिक्रिया दिनुभयो । प्रजिअ पोखरेलले लप्चि जलबिधुत आयोजनाका प्रमुख मनोहर खड्कालाई प्रशासन कार्यालयमा बोलाएर घटनाका बारेमा जानकारी समेत लिनुभएको छ । त्यस क्रममा आयोजना प्रमुख खड्काले फिल्डमा रहेका कर्मचारीले पहिरो खसेर दुर्घटना भएको जानकारी गराएको बताएका छन् ।

लामावगरको लप्चिमा नासा हाइड्रोले १६० मेगावाट क्षमताको लप्चि जलबिधुत आयोजना निर्माण गर्दैछ । त्यसकालागि लामावगरवाट लप्चिसम्मको करिव २० किलोमिटर सडक निर्माणको काम भइरहेको छ ।