images
images

कांग्रेस नेता भण्डारीको नेतृत्वमा हिन्दु राष्ट्रकालागि महाअभियान, २२ केन्द्रीय सदस्यको समर्थन

  • ५ फाल्गुन २०८०, शनिबार १५:५४

काठमाडौँ ।नेपाली कांग्रेसका नेता शंकर भण्डारीको नेतृत्वमा हिन्दुराष्ट्र महाअभियानको घोषणा गरिएको छ ।

काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा आज आयोजित कार्यक्रमकाबिच हिन्दुराष्ट्र महाअभियान सुरु गरिएको हो । सो महाअभियानमा कांग्रेसका २२ नेताले समर्थन गरेका छन् । हिजो बसेको केन्द्रीय समितीको बैठकमा पनि ती नेताहरुले पार्टी हिन्दुराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै पूरक प्रस्ताव दर्ता गरेका थिए । हिन्दुराष्ट्र महाअभियानमा पार्टी सदस्य तथा प्रदेश कार्यसमितिका सभापतिहरु रहेका छन् । महाअभियानमा रहेका अधिकांश पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु रहेका छन् ।

हिन्दुराष्ट्रको महाअभियानमा समर्थन गर्ने नेताहरुमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीता कुमारी, दिलेन्द्र बडु, डा.डिला संग्रौला, शारदा पौडेल,अर्जुनबहादुर सिंह, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादव रहेका छन् । यस्तै, समर्थन गर्ने प्रदेश सभापतिहरुमा बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेशका शुक्रराज शर्मा रहेका छन् ।

९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म, संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरु, सहिष्णुता,सहअस्तित्वको अभ्यासमा खलल पुग्नेगरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको भन्दै उनीहरुले असन्तुष्टि समेत जनाएका छन् । सोमवारदेखि हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दुराष्ट्रको एजेण्डा उठाउने तयारी गरिएको छ । अघिल्लो महासमितिको बैठकमा पनि भण्डारीसहित महासमिति सदस्यहरुले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए ।