images
images

रौतहटमा सरस्वतीको मूर्ति विसर्जनका क्रममा झडप, स्थिति अनियन्त्रित बन्दा प्रशासनद्धारा कर्फ्यु

  • ५ फाल्गुन २०८०, शनिबार १८:५०

रौतहट । रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीनका लागि कफ्र्यु आदेश जारी गरेको छ ।

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वती मूर्ति विसर्जनका लागि जाने क्रममा दुई समुदायबीच झडपभएपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अनिश्चितकालीनका लागि कफ्र्यु आदेश जारी भइसकेको बताउनुभयो । उहाँका अनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको हो । घिउराका विद्यार्थीहरुले सरस्वती पूजा गरेर हिजो नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि डिजे बाजाको विषयमा विवाद भएको थियो ।

विवाद भएपछि मूर्ति सेलाउने कार्यक्रम रोकिएको थियो । प्रहरीको रोहबरमा आज दुवै पक्षबीच छलफल भई डिजेबाजा अर्काे बाटो भएर लैजाने गरी मूर्ति सेलाउने दिने सहमति भएको थियो । तर, सहमति अनुसार नै सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा मुस्लिम समुदायका व्यक्तिले ढुंगामुढा गरेपछि झडप भएको हो । झडप हुँदा दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते समेत भएका थिए । सो झडपपछि स्थिति नियन्त्रणमा लिन कफ्र्यु आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । कफ्र्यु उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।